भाइरल भिडियोबारे वन कार्यालयको स्पष्टीकरण: ‘टेम्पो खसालिएको होइन, दुर्घटनाबश भीरबाट लडेको हो’

धनगढी : डिभिजन वन कार्यालय कैलालीले गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनको गाईमारे चुरे क्षेत्रमा अतिक्रमण हटाउने अभियानका क्रममा टेम्पो भीरबाट खसालिएको भन्ने आरोपप्रति ध्यानाकर्षण भएको जनाएको छ।

आइतबार जारी प्रेस विज्ञप्तिमा कार्यालयले उक्त क्षेत्र नेपालको अत्यन्त संवेदनशील तथा कमजोर पर्यावरणीय प्रणाली रहेको चुरे क्षेत्रमा पर्ने उल्लेख गर्दै विगतदेखि नै सार्वजनिक वन क्षेत्र अतिक्रमण गरी खोका–छाप्रा निर्माण, सरकारी जग्गा कब्जा गर्ने तथा व्यापारिक गतिविधि सञ्चालन गर्ने प्रयास हुँदै आएको जनाएको छ।

कार्यालयका अनुसार केही महिनाअघि पुनः उक्त क्षेत्रमा अवैध रूपमा खोका–छाप्रा निर्माण गरिएको थियो। सामाजिक सञ्जालमा प्रचार गरिएजस्तो टेम्पो भने सञ्चालन अवस्थामा रहेको सवारीसाधन नभई चक्का र इन्जिन निकालिएको फलामे अवशेष मात्र रहेको दाबी गरिएको छ। उक्त सामग्री वन क्षेत्र अतिक्रमण गर्ने उद्देश्यले त्यहाँ राखिएको पनि कार्यालयले जनाएको छ।

वन कार्यालयले करिब एक महिनाअघि नै उक्त संरचना हटाउन निर्देशन दिएको भए पनि सम्बन्धित पक्षले नहटाएको जनाएको छ। जेठ २९ गते अतिक्रमण हटाउने अभियान सञ्चालनका क्रममा वन टोलीले उक्त सामग्री हटाउने प्रयास गर्दा भिरालो तथा असन्तुलित भू–बनोटका कारण कवाडी टेम्पोको अस्तिपञ्जर अनियन्त्रित भई दुर्घटनाबश भीरबाट खसेको कार्यालयको दाबी छ।

घटनाबारे सामाजिक सञ्जालमा फैलाइएको प्रचार वास्तविकताभन्दा फरक रहेको कार्यालयले स्पष्ट पारेको छ।

यता, टेम्पो भीरबाट खसेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि वन कर्मचारीको भूमिकामाथि प्रश्न उठाइएको छ। भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले घटनाको आलोचना गर्दै छानबिनको मागसमेत गरेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.