टेम्पो भीरबाट खसालिएको प्रकरणमा वनका वरिष्ठ अधिकृतमाथि मुद्दा

धनगढी  : कैलालीको गोदावरी नगरपालिका–४ गाईमारेमा वन अतिक्रमण हटाउने क्रममा स्थानीयको टेम्पो भीरबाट खसालिएको घटनाले नयाँ मोड लिएको छ। घटनामा संलग्न रहेको आरोपमा डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ डिभिजन वन अधिकृत कृष्णबहादुर बोहरा र जमदार चेतराज फूलाराविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरिएको छ।

टेम्पो चालक धनु धामीले दिएको किटानी जाहेरीका आधारमा दुवै जनाविरुद्ध मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी योगेन्द्र तिमिल्सिनाले जानकारी दिए। उनका अनुसार अदालतबाट ७ दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान अघि बढाइएको छ।

यसैबीच, घटनामा नियन्त्रणमा लिइएका वन रक्षकसहित अन्य १० जना वन कर्मचारीलाई भने आवश्यक परे उपस्थित हुने सर्तमा हाजिरी जमानीमा रिहा गरिएको प्रहरीले जनाएको छ।

गत साता वन अतिक्रमण हटाउने अभियानका क्रममा स्थानीय धनादेवी धामीले खुद्रा व्यापार सञ्चालनका लागि प्रयोग गर्दै आएको टेम्पोलाई वन कर्मचारीहरूले भीरबाट खसालेको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएको थियो। भिडियो सार्वजनिक भएपछि घटनाको चौतर्फी आलोचना सुरु भएको थियो भने १२ जना वन कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको थियो।

घटनाको सत्यतथ्य छानबिन गर्न सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका निर्देशक डा। हेमराज विष्टको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिले घटनामा संलग्नता, जिम्मेवारी र क्षतिको अवस्थाबारे विस्तृत अध्ययन गरी प्रतिवेदन बुझाउने जनाइएको छ।

स्थानीयस्तरमा वन संरक्षणको नाममा गरिएको कार्यशैलीमाथि प्रश्न उठिरहेका बेला यो घटनाले वन प्रशासनको जिम्मेवारी, अधिकार प्रयोगको सीमा र नागरिकको सम्पत्ति संरक्षणको विषयलाई पुनः बहसको केन्द्रमा ल्याएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.