धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३\८४ का लागि ३७ अर्ब ७० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेशसभाको असार १ गते राति ११ः४५ बजे बसेको बैठकमा आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् ।
मन्त्री धामीका अनुसार बजेट कार्यान्वयनका लागि आन्तरिक राजस्वबाट १ अर्ब ७२ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ । त्यस्तै, राजस्व बाँडफाँटमार्फत सङ्घीय सरकारबाट १० अर्ब २४ करोड ९२ लाख ६६ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
यसैगरी सङ्घीय रोयल्टीबाट ७ करोड, वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ६ करोड ३३ लाख, चालु आर्थिक वर्षको विनियोजनबाट बचत हुने ९ अर्ब ६२ करोड, सशर्त अनुदानबाट ६ अर्ब ३ करोड ५८ लाख, सङ्घीय समपूरक अनुदानबाट ३८ करोड ३८ लाख तथा विशेष अनुदानबाट ५२ करोड ७६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको मन्त्री धामीले जानकारी दिए ।
यद्यपि, प्रस्तुत बजेटमा चालु खर्च र पुँजीगत खर्चतर्फ कति रकम विनियोजन गरिएको भन्ने विषयमा मन्त्री धामीले विस्तृत विवरण सार्वजनिक गरेनन् ।
प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरूको बहिष्कारका बीच सरकारले बजेट सार्वजनिक गरेको हो । बैठक सुरु हुनासाथ प्रतिपक्षी सांसदहरूले आ–आफ्नो स्थानबाट विरोध जनाएका थिए । त्यसपछि सभामुख भीमबहादुर भण्डारीले दिएको समयमा बोल्दै प्रदेशसभा सदस्य मानबहादुर धामीले सरकारले समयमै बजेट प्रस्तुत गर्न नसकेर लाचारीपन देखाएको आरोप लगाए ।
त्यसपछि प्रतिपक्षी दलका सबै सांसद बैठक बहिष्कार गर्दै बाहिरिएका थिए । बजेट बाँडफाँटमा सत्तापक्षभित्रै सहमति जुट्न नसक्दा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न ढिलाइ भएको बताइएको छ ।
चालु आर्थिक वर्ष २०८२\८३ मा सुदूरपश्चिम प्रदेश सरकारले ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार रुपैयाँको बजेट ल्याएको थियो ।