अतिक्रमण हटाउने नाममा किन सधैं गरिबका घरमा मात्रै डोजर : बिष्ट

अत्तरिया  : जेठ २९ गते गोदावरी नगरपालिका वडा नं ४ बासपानी क्षेत्रमा वन कार्यालयले अतिक्रमण हटाएको थियो।

डिभिजन वन कार्यालयले वन क्षेत्र अतिक्रमण हटाए पछी प्रभावित स्थानीय बासिन्दाहरू न्यायको माग गर्दै आफ्ना पीडा सार्वजनिक गरिरहेका छन्।

यस्तै सोहि वडा बासी युवा समाजसेवी तथा स्थानीय नेता विराज बिष्टले वन कार्यालयले अतिक्रमण हटाउने नाममा गरिब तथा विपन्न नागरिकलाई घरबारविहीन बनाएको आरोप लगाएका छन्। उनले प्रभावित परिवारहरूको जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने बताए।

“अतिक्रमण हटाउने नाममा किन सधैं गरिबका घरमा मात्रै डोजर चल्छ ? अतिक्रमण गरेर बनाइएका ठूला भवनहरू किन भत्काइँदैनन् ?” उनले प्रश्न गर्दै भने, “वनले अतिक्रमण हटाउने नाममा गरिब तथा दुःखी नागरिकहरूको बसोबासका संरचना भत्काउनु अमानवीय कार्य हो। यो केवल अतिक्रमण हटाउने विषय मात्र होइन, जनताको जीवनसँग प्रत्यक्ष जोडिएको संवेदनशील मुद्दा हो।”

उनले वर्षायामको समयमा घरबारविहीन बनेका नागरिकहरू कुनै दुर्घटना वा विपत्तिमा परे त्यसको नैतिक तथा प्रशासनिक जिम्मेवारी संघीय, प्रदेश तथा स्थानीय सरकार तीनै तहले लिनुपर्ने बताए। साथै प्रभावित परिवारहरूको समस्या समाधानका लागि सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने उनको माग छ।
हाल बासपानी क्षेत्रमा प्रभावित परिवारहरू न्याय, राहत तथा पुनःस्थापनाको माग गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराइरहेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.