सम्मान र समान व्यवहारको खोजीमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय
पहिचानकै आधारमा विभेद अन्त्य गर्न सञ्चारमाध्यम र समाजको भूमिका महत्वपूर्ण
धनगढी : समाजमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायप्रति स्वीकार्यता बढ्दै गएको चर्चा भइरहे पनि व्यवहारिक रूपमा अझै सम्मानित र सहज जीवन बिताउन संघर्ष गर्नुपरेको समुदायका सदस्यहरूले बताएका छन् ।
बुधबार धनगढीमा एकता नेपालद्वारा आयोजित “लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम” मा सहभागीहरूले सार्वजनिक जीवनमा भोग्दै आएका विभेद, असमान व्यवहार र चुनौतीबारे आफ्ना अनुभव साझा गरेका हुन् ।
कार्यक्रममा बोल्दै एकता नेपालका राज चौधरीले समुदायका एक सदस्यले पहिचानकै कारण दैनिक जीवनमा विभिन्न समस्या झेल्नुपरेको बताए । “हामीलाई अझै पनि समाजले सहज रूपमा स्वीकार गरेको अनुभूति हुँदैन,” उनले भने, “कोठा भाडामा लिन जाँदा अस्वीकार गरिन्छ, कतिपय अवस्थामा रोजगारीका अवसरबाट समेत वञ्चित हुनुपर्छ ।”
सहभागीहरूले पाहुनाघर, सार्वजनिक स्थल तथा कार्यस्थलमा समेत अपमानजनक व्यवहार र विभेदको सामना गर्नुपरेको गुनासो गरे । कानुनी रूपमा अधिकार सुनिश्चित भए पनि व्यवहारमा समान अवसर र सम्मान प्राप्त गर्न अझै कठिनाइ रहेको उनीहरूको भनाइ थियो ।
“हामी कुनै विशेष सुविधा मागिरहेका छैनौँ,” अर्का सहभागीले भने, “अन्य नागरिकसरह सम्मान, समान अवसर र मर्यादित व्यवहार पाउन चाहन्छौँ। पहिचानकै आधारमा गरिने विभेद अन्त्य हुनुपर्छ ।”
अन्तरक्रियामा सहभागीहरूले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका मुद्दा, अधिकार र उपलब्धिलाई समाजसम्म पु¥याउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गरे । समुदायप्रति सकारात्मक दृष्टिकोण विकास गर्न जनचेतना अभिवृद्धि र खुला संवादलाई अझ प्रभावकारी बनाउनुपर्नेमा उनीहरूले जोड दिए ।
एकता नेपालका प्रतिनिधिहरूले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरूले भोगिरहेका समस्या केवल समुदायको मात्र नभई राज्य, समाज र सरोकारवाला निकायहरूको साझा चासोको विषय भएको बताए । समानता, सम्मान र अवसर सुनिश्चित गर्न सरकार, नागरिक समाज, सञ्चारमाध्यम र समुदायबीच समन्वित सहकार्य आवश्यक रहेको उनीहरूको भनाइ थियो ।
कार्यक्रममा एकता नेपालका प्रतिनिधि, लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका सदस्य तथा विभिन्न सञ्चारमाध्यममा आबद्ध सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । अन्तरक्रियामा समुदायका अधिकार, चुनौती तथा सम्मानित र समावेशी जीवन सुनिश्चित गर्न आवश्यक पहलका विषयमा विस्तृत छलफल गरिएको थियो ।