धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३\०८४ का लागि ल्याएको बजेटप्रति कडा असन्तुष्टि जनाउँदै नेकपा सुदूरपश्चिम प्रदेश सभा संसदीय दलले उक्त बजेट यथास्थितिमा पारित हुन नदिने चेतावनी दिएको छ।
शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा संसदीय दलका नेता खगराज भट्टले बजेट जनताको आवश्यकता र अपेक्षाभन्दा टाढा रहेको आरोप लगाउँदै यसको पुनर्लेखन आवश्यक रहेको बताए।
उनले बजेट केही सीमित राजनीतिक नेतृत्व तथा सरकार निकट व्यक्तिहरूलाई लाभ पुग्ने गरी निर्माण गरिएको दाबी गरे। “यो बजेट केही थान नेतालाई मोटाउने, मुख्यमन्त्री र मन्त्रीका आसेपासेलाई पोस्ने दस्तावेज बनेको छ। जनताका समस्या र आवश्यकताप्रति यसले कुनै सम्बोधन गरेको छैन,” भट्टले भने।
बजेट निर्माण प्रक्रिया नै अपारदर्शी रहेको आरोप लगाउँदै उनले योजनाहरू नीतिगत आधारमा नभई व्यक्तिगत प्रभाव र पहुँचका आधारमा समावेश गरिएको दाबी गरे। “सुटकेस बुझेर र होटलका कोठामा योजना हालेर बजेट बनाइएको छ,” उनले आरोप लगाए।
भट्टका अनुसार बजेटमा सामान्य कमजोरी मात्र नभई गम्भीर संरचनागत समस्या रहेको छ। “केही सानो छिद्र भएको भए टालटुल गर्न सकिन्थ्यो। यो त टाल्न नसकिने गरी परेको ठूलो भ्वाङ हो। त्यसैले बजेटलाई पुनर्लेखन गर्नुपर्छ,” उनले भने।
उनले बजेटप्रति सत्तारुढ दलभित्रकै धेरै सांसद असन्तुष्ट रहेको दाबी गर्दै प्रदेशसभामा बजेटमाथिको छलफलका क्रममा त्यसको प्रभाव देखिने बताए।
सरकार परिवर्तनको सम्भावनाबारे सञ्चारकर्मीको प्रश्नमा भट्टले केन्द्रमा कांग्रेस र एमालेका शीर्ष नेताहरूबीच विभिन्न विषयमा छलफल भइरहे पनि सरकार परिवर्तनबारे कुनै औपचारिक छलफल नभएको स्पष्ट पारे।
उनले आफूहरू सरकारमा जाने अवस्था सिर्जना भए पनि वर्तमान सरकारजस्तो असन्तुष्टि दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरे। साथै, सत्ता जोगाउन कुर्सीमा टाँसिएर बस्ने प्रवृत्तिप्रति व्यङ्ग्य गर्दै प्रदेश सरकारको नेतृत्वमाथि समेत कटाक्ष गरे।
सुदूरपश्चिम प्रदेश सरकारले गत असार १ गते राति आर्थिक वर्ष २०८३\०८४ का लागि ३७ अर्ब ६० करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो। बजेट सार्वजनिक भएलगत्तै विभिन्न राजनीतिक दल तथा सरोकारवालाहरूले यसको वितरणमुखी र पहुँचका आधारमा योजना समावेश गरिएको भन्दै आलोचना गर्दै आएका छन्।