मानव सेवामा समर्पित समाजसेवी पुष्पा राई
ट्रमा सेन्टरमा निःशुल्क भोजन सेवामार्फत सयौं बिरामी कुरुवालाई राहत
अत्तरिया : बेलायत (यूके) मा बसोबास गर्दै आएकी समाजसेवी पुष्पा राईले आफ्नो जीवनलाई मानव सेवामा समर्पित गर्दै नेपालका विभिन्न क्षेत्रका दुःखी, गरिब, असहाय तथा विपन्न समुदायको सहयोगमा निरन्तर सक्रियता देखाउँदै आएकी छन्।
व्यक्तिगत सुख–सुविधाभन्दा सामाजिक सेवालाई प्राथमिकता दिँदै उनले देशभरका आश्रम, दुर्गम बस्ती तथा आवश्यकतामा रहेका नागरिकका लागि विभिन्न सहयोगात्मक अभियान सञ्चालन गर्दै आएकी छन्।
राईले नेपालका विभिन्न जिल्लामा रहेका वृद्धाश्रम, बालआश्रम, असहाय परिवार तथा आर्थिक अभावमा जीवनयापन गरिरहेका समुदायलाई सहयोग गर्दै मानवीय सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेकी छन्। उनका सामाजिक अभियानहरूले धेरै परिवारको जीवनमा सकारात्मक परिवर्तन ल्याएको स्थानीयवासी बताउँछन्।
यसै क्रममा उनले काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर तथा वीर अस्पतालमा उपचाररत बिरामीका कुरुवाहरूका लागि निःशुल्क भोजन सेवा सञ्चालन गरिरहेकी छन्। उपचारका लागि देशका विभिन्न जिल्लाबाट आएका बिरामीका आफन्त तथा कुरुवाहरू आर्थिक अभावका कारण दैनिक भोजन व्यवस्थापन गर्न कठिनाइ भोग्ने अवस्थालाई मध्यनजर गर्दै राईले उक्त सेवा सुरु गरेकी हुन्।
उनको सहयोगबाट सञ्चालित भोजन सेवामार्फत दैनिक सयौं बिरामी कुरुवाहरू लाभान्वित हुँदै आएका छन्। अस्पताल परिसरमा उपलब्ध गराइने निःशुल्क भोजनले आर्थिक रूपमा कमजोर परिवारलाई ठूलो राहत मिलेको छ भने उपचारका क्रममा भोग्नुपर्ने अतिरिक्त आर्थिक भारसमेत कम गर्न मद्दत पुगेको छ।
समाजसेवी राई मानव सेवा नै सबैभन्दा ठूलो धर्म भएको विश्वास राख्छिन्। यही मान्यतालाई आत्मसात गर्दै उनले शिक्षा, स्वास्थ्य, राहत तथा सामाजिक उत्थानका क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आएकी छन्। सामाजिक उत्तरदायित्वप्रति उनको गहिरो प्रतिबद्धताले समाजमा सकारात्मक सन्देश प्रवाह गरिरहेको छ।
मानवताप्रतिको समर्पण, सेवाभाव र परोपकारी कार्यमार्फत पुष्पा राई आज धेरैका लागि प्रेरणाको स्रोत बनेकी छन्। उनको यो अभियानले नेपालमा सामाजिक सेवा र परोपकारको संस्कृतिलाई थप बलियो बनाउँदै अन्य व्यक्तिहरूलाई समेत समाजसेवामा अग्रसर हुन प्रेरित गरिरहेको छ।