बैतडी : बैतडीको शाहीलेक क्षेत्रमा शुक्रबार साँझ भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
धनगढीबाट बैतडी सदरमुकामतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको सुपप्र ०१००१ ख ३६४६ नम्बरको बस शुक्रबार साँझ करिब पौने ६ बजे दुर्घटनामा परेको हो। दुर्घटनामा दशरथचन्द नगरपालिका–६ निवासी ३५ वर्षीय विरेन्द्रबहादुर चन्दको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा १० जना घाइते भएका छन्। घाइतेमध्ये दशरथचन्द नगरपालिका–४ की २७ वर्षीया लक्ष्मी ऐर, ८ वर्षीय हेमविक्रम जोशी, ६० वर्षीया पूर्णदेवी जोशी, २२ वर्षीया पूजा कार्की र उनकी ३ वर्षीया छोरी दृष्टि कार्की रहेका छन्। यस्तै दशरथचन्द नगरपालिका–२ की २० वर्षीया ललिता लावड, ३२ वर्षीया जानकी लावड, दशरथचन्द नगरपालिका–६ की ३० वर्षीया लक्ष्मी साउँद, दशरथचन्द नगरपालिका–५ का ५२ वर्षीय कर्णदेव भट्ट तथा पाटन नगरपालिका–९ का ३५ वर्षीय कविराज भट्ट पनि घाइते भएका छन्।
घाइतेमध्ये कविराज भट्टको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि धनगढी रेफर गरिएको छ। अन्य घाइतेहरूको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए।
प्रहरीका अनुसार पाटन नगरपालिका–८ निवासी ३७ वर्षीय केशवसिंह महराले चलाएको बस एक्कासी अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेको थियो। दुर्घटनापछि चालक महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बसमा चालकसहित १२ जना सवार रहेको बताइएको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेकाले घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।