अत्तरिया : बढ्दो गर्मी र लूका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने जोखिम बढेपछि धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित सबै विद्यालयमा चार दिन पठनपाठन स्थगित गर्ने निर्णय गरेको छ।
उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले सोमबार जारी गरेको सूचनाअनुसार असार ९ गतेदेखि १२ गतेसम्म नगरका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा अध्ययन–अध्यापन कार्य बन्द रहनेछ।
उपमहानगरपालिकाले पछिल्ला केही दिनयता बढ्दो अत्यधिक तापक्रमका कारण विद्यालय जाने विद्यार्थीहरू विभिन्न स्वास्थ्य समस्याको जोखिममा परेको भन्दै उनीहरूको सुरक्षालाई प्राथमिकतामा राखेर निर्णय गरिएको जनाएको छ।
शिक्षा अधिकृत जयराज जोशीद्वारा हस्ताक्षरित सूचनामा उक्त बिदा वर्षे बिदासँग मिलान हुने गरी व्यवस्थापन गरिएको उल्लेख छ।
उपमहानगरपालिकाले शिक्षक, विद्यार्थी तथा अभिभावकलाई अत्यधिक गर्मी र लूबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।
पछिल्ला दिनहरूमा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा अधिकतम तापक्रम ४२ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। चर्को घाम र अत्यधिक गर्मीका कारण विद्यालय जाने बालबालिका प्रत्यक्ष रूपमा प्रभावित भइरहेका छन्। स्वास्थ्य विज्ञहरूले पनि अत्यधिक गर्मीमा बाहिरी गतिविधि कम गर्न, प्रशस्त पानी पिउन र आवश्यक सतर्कता अपनाउन सुझाव दिएका छन्।