अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाको १७ औँ नगरसभा अधिवेशन सुरु भएको छ। नगरपालिकाको सभा हलमा बुधबारदेखि सुरु भएको अधिवेशनमा आगामी आर्थिक वर्ष २०८३र८४ का लागि १ अर्ब ३० करोड ५ लाख ८२ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिएको छ।
नगर उपप्रमुख शारदा देवी रोकायाले नगरसभामा बजेट प्रस्तुत गर्दै नगरको समग्र विकास, सेवा प्रवाह सुधार तथा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको बताइन्। प्रस्तुत बजेटअनुसार कुल विनियोजनमध्ये ६७.४ प्रतिशत रकम चालु खर्चतर्फ र ३२.६ प्रतिशत रकम पुँजीगत खर्चतर्फ छुट्याइएको छ।
नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडक तथा अन्य आधारभूत पूर्वाधार विकासका कार्यक्रमलाई बजेटमार्फत प्राथमिकता दिएको जनाएको छ। आगामी आर्थिक वर्षमा नगरवासीलाई प्रत्यक्ष लाभ पुग्ने योजनाहरू कार्यान्वयनमा जोड दिइने नगरपालिकाको भनाइ छ।
नगरसभामा नगर प्रमुख वीरेन्द्र भट्ट, विभिन्न वडाका अध्यक्ष, कार्यपालिका सदस्य तथा अन्य जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो। प्रस्तुत बजेटमाथि छलफल गरी आवश्यक सुझाव संकलनपछि नगरसभाबाट पारित गरिने जनाइएको छ।
गोदावरी नगरपालिकाले आगामी वर्षका लागि विकास र सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्यसहित बजेट ल्याएको जनाएको छ।