धनगढी : मनसुन सक्रिय हुन नसक्दा कैलालीसहित सुदूरपश्चिमका तराई क्षेत्रहरूमा खडेरीको असर गम्भीर बन्दै गएको छ। वर्षा अभावका कारण धनगढी क्षेत्रमा भूमिगत पानीको सतह तीव्र रूपमा घट्न थालेपछि अधिकांश हातेपम्प सुकेका छन् भने खानेपानी र सिँचाइ दुवै क्षेत्रमा संकट देखिएको छ।
भूमिगत जलस्रोत तथा सिंचाई विकास डिभिजन कैलालीका अनुसार भूमिगत पानीको अत्यधिक दोहन, वन फँडानी, चुरे–भावर क्षेत्रमा नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन, कंक्रिट संरचना र कालोपत्रे सडकको विस्तारका कारण वर्षाको पानी जमिनभित्र पुनर्भरण हुन नसकेको हो। यही कारण धनगढी क्षेत्रमा भूमिगत जलस्रोत वर्षेनि घट्दै गएको बताइएको छ।
खानेपानी संस्थान धनगढीले पछिल्ला दिनमा भूमिगत पानीको सतह करिब २ मिटरले घटेको जनाएको छ। संस्थानले २१ मिटर गहिराइका १२ वटा बोरिङमार्फत दैनिक १७ लाख लिटर पानी वितरण गर्दै आए पनि पानीको सतह घटेपछि आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण बनेको छ।
पानीको अभावले कृषिक्षेत्र पनि प्रभावित भएको छ। पर्याप्त सिँचाइ नपाउँदा किसानले धान रोप्न सकेका छैनन् भने बारीमा लगाइएका तरकारी बालीसमेत सुक्न थालेका छन्। पहिले चौबीसै घण्टा पानी आउने धारा, चापाकल र बोरिङहरू अहिले कतै पूर्ण रूपमा सुकेका छन् भने कतै मुस्किलले पानी आउन थालेको स्थानीय बताउँछन्।
धनगढी उपमहानगरपालिका–१४, स्याउले बजारका स्थानीय धर्मराज पडालले विगतको अवस्था सम्झिँदै भने, “पहिले ५०–६० फिटमै पानी आउने चापाकल अहिले २०० फिटसम्म गाड्दा पनि पानी आउँदैन। खानेपानी जुटाउनै समस्या भएको छ, छिमेकीको भर पर्नुपर्ने अवस्था आएको छ।”
स्याउले बजार क्षेत्रमा अधिकांश धारा र नलका सुकेपछि धनगढी उपमहानगरपालिकाले दमकल तथा पानी ट्यांकरमार्फत आपत्कालीन रूपमा पानी वितरण सुरु गरेको छ। वडा नम्बर १४ का अध्यक्ष मानबहादुर बिष्टसँगको समन्वयमा मंगलबारदेखि वन कार्यालय अगाडि डिप बोरिङ नलका जडानको काम पनि थालिएको छ। उपमहानगरपालिकाले मनसुन सक्रिय नहुँदासम्म ट्यांकरमार्फत दैनिक उपभोगका लागि पानी उपलब्ध गराउने जनाएको छ।
बढ्दो जलसंकटलाई दीर्घकालीन रूपमा समाधान गर्न उपमहानगरपालिकाले भूमिगत पानी पुनर्भरणका कार्यक्रम अघि बढाएको छ। वृक्षारोपण अभियान, प्राकृतिक ताल–तलैयाको संरक्षण, नदी–नाला संरक्षण तथा नयाँ भवन निर्माणमा सोकपिट अनिवार्य गर्ने अभियान सञ्चालन भइरहेको जनाइएको छ।
विशेषज्ञहरूले समयमै पर्याप्त वर्षा नभए धनगढीसहित कैलालीका अन्य क्षेत्रमा खानेपानी संकट अझ गम्भीर बन्न सक्ने चेतावनी दिएका छन्। मनसुन ढिलो हुँदा वातावरणीय असन्तुलनसँगै जलस्रोत व्यवस्थापनको चुनौती पनि थपिएको छ। अहिले धनगढीका बासिन्दा आकाशतर्फ हेर्दै पानीको प्रतीक्षामा छन्।