सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित गर्न मजदुर संगठनको माग

धनगढी  : नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सार्वजनिक यातायात क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी, प्रविधिमैत्री तथा श्रमिकमैत्री बनाउन माग गर्दै यातायात व्यवस्था कार्यालय धनगढीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । संगठनका प्रदेश अध्यक्ष ललित चन्दको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बुधबार यातायात व्यवस्था कार्यालय धनगढीका कार्यालय प्रमुख भुवन जोशीलाई चार बुँदे ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको हो । संगठनले यातायात क्षेत्रमा देखिएका विभिन्न समस्या समाधान गर्दै सेवाग्राही तथा श्रमिकमैत्री वातावरण निर्माणका लागि आवश्यक सुधार गर्न माग गरेको छ ।
ध्यानाकर्षण पत्रमा यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीको अत्यधिक भीडभाड, बिचौलियाको प्रभाव, सेवाग्राहीले भोग्नुपरेका अनावश्यक झन्झट तथा ढिलासुस्तीका कारण सेवा प्रवाह प्रभावित भइरहेको उल्लेख गरिएको छ । संगठनले यस्ता समस्या अन्त्य गर्दै सेवाप्रवाहलाई छिटो, सहज, प्रभावकारी र पारदर्शी बनाउन आग्रह गरेको छ । त्यसैगरी सेवा प्रवाहलाई आधुनिक प्रविधिसँग जोड्दै क्यासलेस प्रणालीको प्रभावकारी कार्यान्वयन गर्न, अनलाइन प्रणालीलाई थप सुदृढ बनाउन तथा कार्यालयको कार्यसम्पादनलाई पारदर्शी र उत्तरदायी बनाउनुपर्ने आवश्यकता पनि औंल्याइएको छ । संगठनले कर्मचारीको जिम्मेवारी र जवाफदेहितालाई समेत थप प्रभावकारी बनाउनुपर्ने माग राखेको छ ।
ध्यानाकर्षण पत्रमा सरकारले कार्यान्वयन गरिरहेको योगदानमा आधारित सामाजिक सुरक्षा कोष सम्बन्धी नीतिलाई यातायात क्षेत्रमा प्रभावकारी रूपमा लागू गर्नुपर्ने विषयलाई विशेष प्राथमिकताका साथ उठाइएको छ । संगठनले सवारीसाधन दर्ता, नवीकरण तथा अन्य प्रशासनिक कार्य गर्दा सम्बन्धित कम्पनी, व्यवसायी वा व्यवस्थापकले आफ्ना श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको प्रमाण अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था लागू गर्न माग गरेको छ । यसबाट यातायात क्षेत्रमा कार्यरत श्रमिकहरूको सामाजिक सुरक्षा सुनिश्चित हुने विश्वास संगठनको छ ।

त्यसैगरी नयाँ सवारीसाधन दर्ता तथा सञ्चालन अनुमति प्रदान गर्दा प्रचलित कानुनले तोकेका मापदण्डको पूर्ण पालना गर्न संगठनले आग्रह गरेको छ । रुटको अवस्था, यात्रु चाप, स्थानीय आवश्यकता तथा सवारीसाधनको प्रकृतिलाई आधार बनाएर मात्रै सञ्चालन अनुमति प्रदान गर्नुपर्ने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न माग गरिएको छ । यसले यातायात क्षेत्रमा देखिएको अस्वस्थ प्रतिस्पर्धा तथा अव्यवस्थित सञ्चालनलाई नियन्त्रण गर्न सहयोग पुग्ने संगठनको भनाइ छ ।

कार्यक्रममा बोल्दै संगठनका प्रदेश अध्यक्ष ललित चन्दले सार्वजनिक यातायात क्षेत्र देशको अर्थतन्त्र र जनजीवनसँग प्रत्यक्ष जोडिएको संवेदनशील क्षेत्र भएकाले यसको व्यवस्थापन व्यवस्थित, पारदर्शी र श्रमिकमैत्री हुन आवश्यक रहेको बताए । उनले श्रमिक, व्यवसायी, सेवाग्राही तथा सम्बन्धित सरकारी निकाय सबैको हितलाई मध्यनजर गर्दै ध्यानाकर्षण पत्र पेश गरिएको उल्लेख गरे । साथै उठाइएका विषयहरूलाई सम्बन्धित निकायले गम्भीरतापूर्वक ग्रहण गरी कार्यान्वयनमा लैजाने विश्वास व्यक्त गरे ।

ध्यानाकर्षण पत्र बुझ्दै यातायात व्यवस्था कार्यालय धनगढीका कार्यालय प्रमुख भुवन जोशीले संगठनले उठाएका चारवटै माग समयसापेक्ष, जायज र सान्दर्भिक रहेको बताए । उनले यातायात क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र सेवामुखी बनाउन यस्ता सुझावहरू महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रस्तुत विषयहरू आफ्नो समेत ध्यानाकर्षणको विषय भएको बताए । कार्यालय प्रमुख जोशीले संगठनले उठाएका माग तथा सुझावहरूलाई गम्भीरतापूर्वक अध्ययन गरी कार्यान्वयनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.