गोदावरी नगरमा छाडा चौपायाको कहर अझै उस्तै

आकाश कार्की
अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा छाडा पशु चौपायाको समस्या वर्षौंदेखि जटिल बन्दै गएको छ । सम्बन्धित निकायबाट प्रभावकारी व्यवस्थापन हुन नसक्दा एकातिर पशुहरू स्वयं पीडित बनेका छन् भने अर्कोतर्फ किसानहरूले आर्थिक क्षति बेहोर्नु परेको छ । साथै सडक दुर्घटनाको जोखिमसमेत बढ्दै गएको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् ।
समस्या सिर्जना भएपछि यसको उचित व्यवस्थापन गर्नु स्थानीय तहको दायित्व हो । तर धेरै स्थानमा स्थानीय निकायहरूले प्रभावकारी गौशाला तथा पशु व्यवस्थापनका कार्यक्रम सञ्चालन गर्न नसक्दा गाईगोरुहरू सडक, बजार तथा सार्वजनिक क्षेत्रमा भौतारिन बाध्य भएका छन् ।
नेपालको राष्ट्रिय जनावरका रूपमा परिचित गाई धार्मिक तथा सांस्कृतिक रूपमा हिन्दू समुदायको आस्थासँग जोडिएको छ । तिहार पर्वमा गौपूजा गरिने परम्परा भए पनि व्यवहारमा भने सडकमा छाडा छोडिएका गाईगोरुहरू लखेटिने, कुटिने तथा बेवास्ताको शिकार बन्ने गरेका छन् ।
यस्तै बुधबार राति करिब ९ः४५ बजे तिर गोदावरी नगरपालिका पूर्व रोड बनखेत क्षेत्र स्थित पेट्रोल पम्प नजिकै पूर्व–पश्चिम राजमार्गमा तीव्र गतिमा आएको एक पिकअप जिपले सडकमा बसेको गाईलाई ठक्कर दिएर फरार भएको थियोे । दुर्घटनामा गाई सडकमै तड्पेर प्राण त्यागेको छ । सुरुमा घाईते गाईलाई बचाउन प्रयास गर्दा नगरपालिकाको सम्वन्धित निकायलाई जानकारी गराउँदा पनि कूनै प्रतिक्रिया नदिएको र सधैं नजर अन्दाज गर्ने गरेको हुँदा गाईलाई स्थानीयले नगरले छाडा पशु चौपायाको प्रभाबकारी व्यवस्थापन हुन् नसक्दा दूर्घटना निम्तिएको भन्दै राती गोदावरी नगरपालिका गेट अगाडि छोडेर गएका थिए । घटनाले छाडा पशु व्यवस्थापनको अभावले निम्त्याएको जोखिमलाई पुनः उजागर गरेको छ ।
स्थानीयवासीका अनुसार छाडा पशु चौपाया बढ्नुमा पशुपालकको गैर जिम्मेवारी पनि प्रमुख कारण हो । दूध दिन छाडेका वा पालन पोषणमा खर्च बढेका पशुहरू खुला रूपमा सडक तथा सार्वजनिक स्थलमा छाड्ने प्रवृत्ति बढ्दो छ । यस्ता कार्यमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन आवश्यक रहेको उनीहरूको भनाइ छ ।
छाडा पशुहरू आहाराको खोजीमा किसानले लगाएका अन्नबाली तथा तरकारी खेतीमा पस्ने गरेका छन् । जसका कारण हरेक वर्ष किसानहरूले ठूलो आर्थिक क्षति बेहोर्नु परेको छ ।
सडक क्षेत्रमा छाडा पशुहरूको उपस्थिति बढ्दै जाँदा दुर्घटनाको जोखिम पनि बढेको छ । विशेषगरी राजमार्ग तथा व्यस्त सडक क्षेत्रमा रातिको समयमा हुने दुर्घटनामा पशुहरू घाइते हुने तथा कतिपय अवस्थामा ज्यानसमेत गुमाउने गरेका छन् । यसले सवारी चालक र यात्रुको सुरक्षामा समेत चुनौती थपेको छ ।
स्थानीयवासीका अनुसार नगर क्षेत्रमा वर्षौंदेखि छाडा पशु व्यवस्थापनको समस्या रहे पनि यसको दीर्घकालीन समाधानका लागि प्रभावकारी पहल हुन सकेको छैन । प्रदेशको केन्द्रबिन्दु मानिने गोदावरी नगरपालिकामा छाडा पशु चौपाया व्यवस्थापन भने चुनौतीकै रूपमा रहेको छ ।
स्थानीय तह, प्रदेश सरकार तथा सम्बन्धित निकायहरूले गौशाला निर्माण, पशु दर्ता प्रणालीको प्रभावकारी कार्यान्वयन तथा पशु छाड्ने व्यक्तिमाथि कानुनी कारबाही जस्ता उपाय अवलम्बन गरी समस्या समाधानतर्फ ध्यान दिनुपर्ने देखिन्छ ।
पशुको संरक्षण, किसानको हित तथा सडक सुरक्षाका लागि छाडा पशु चौपायाको व्यवस्थापन अपरिहार्य बन्दै गएको छ । यसका लागि स्थानीय तह, प्रदेश सरकार तथा सम्बन्धित निकायहरूले दीर्घकालीन योजना बनाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक देखिन्छ । अन्यथा पशुको पीडा, किसानको क्षति र दुर्घटनाको जोखिम दिनप्रतिदिन बढ्दै जाने निश्चित छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.