अत्तरिया : राष्ट्रिय सहकारी बैंक लिमिटेड, सुदूरपश्चिम प्रदेश कार्यालयको आयोजनामा बैंकको २४ औँ स्थापना दिवसको अवसरमा सहकारी पुनर्जागरण चुनौतीलाई अवसरमा बदल्ने रणनीति, कानुनी परिवर्तनको असर एवं समाधानको योजना विषयक प्रदेशस्तरीय गोष्ठी सम्पन्न भएको छ।
बैंकका सञ्चालक मनमोहन विष्टको अध्यक्षता तथा सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालय, धनगढीका रजिस्ट्रार जयन्ती गिरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहकारी संघ–संस्थाका प्रतिनिधि, सहकारीकर्मी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।
प्रमुख अतिथि गिरीले सहकारी क्षेत्रको वर्तमान अवस्था, चुनौती, कानुनी सुधार, सुशासन, पारदर्शिता तथा सदस्यकेन्द्रित व्यवस्थापनमार्फत सहकारी अभियानलाई पुनर्जीवित गर्नुपर्ने आवश्यकता औँल्याए। अध्यक्ष विष्टले राष्ट्रिय सहकारी बैंकले विगत २४ वर्षदेखि सहकारी संस्थाको वित्तीय सुदृढीकरण, क्षमता विकास र सहकारी अभियानको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि सदस्य संस्थासँगको सहकार्यलाई थप प्रभावकारी बनाइने बताए।
कार्यक्रममा जिल्ला सहकारी संघ कैलालीका अध्यक्ष फणीन्द्र सापकोटा र जिल्ला बहुउद्देश्यीय सहकारी संघ कञ्चनपुरका अध्यक्ष प्रेमसिंह भाटले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । साथै, लक्ष्मीनारायण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, टिकापुर तथा जगन्नाथ स्वामी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड, महेन्द्रनगरको सफलताको कथा प्रस्तुत गरिएको थियो।
कार्यक्रममा स्वागत मन्तव्य प्रदेश कार्यालय प्रमुख हीरालाल सुनारले राख्नुभएको थियो भने सञ्चालन आशा जोशीले गर्नुभएको थियो। समापनका क्रममा कर्मचारी चिरञ्जीवी बडुले स्थापना दिवसलाई सहकारी क्षेत्रका समसामयिक विषयमा नीति, रणनीति र सुधारका उपायमाथि सार्थक बहस गर्ने अवसरका रूपमा मनाउँदै आएको जानकारी दिए।