अत्तरिया : नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा बाथरुममा लडेर घाइते भएका छन् । केही दिनअघि भएको उक्त घटनामा उनको दायाँ हात भाँचिएको देउवानिकट स्रोतले पुष्टि गरेको छ ।
स्रोतका अनुसार घटनापछि देउवालाई तत्काल स्थानीय अस्पतालमा उपचारका लागि लगिएको थियो । आवश्यक उपचारपछि उनी अस्पतालबाट डिस्चार्ज भइसकेका छन् र चिकित्सकको निगरानीमा आराम गरिरहेका छन् । उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताइएको छ ।
पूर्वप्रधानमन्त्री देउवा पछिल्लो समय हङकङमा बस्दै आएका छन् । उनी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग हिँडडुल गरिरहेको भिडियो तथा तस्वीरहरू बेला–बेलामा सार्वजनिक हुँदै आएका छन् ।
देउवा २०८२ साल चैत ७ गते थप उपचारका लागि सिंगापुरबाट हङकङ पुगेका थिए । त्यसअघि उनी फागुन १३ गते राति सिंगापुर एयरलाइन्सको उडानमार्फत स्वास्थ्य उपचारका लागि सिंगापुर गएका थिए ।
देउवाको स्वास्थ्य अवस्थाबारे थप विवरण सार्वजनिक नभए पनि चिकित्सकको सल्लाहअनुसार उनले केही समय आराम गर्ने बताइएको छ ।