राप्रपा कैलाली क्षेत्र नं. ४ (ख) का पूर्व सचिव विराज विष्टको राजीनामा, सक्रिय राजनीतिबाट विश्राम

अत्तरिया : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कैलाली क्षेत्र नं. ४ (ख) का पूर्व सचिव विराज विष्टले पार्टीको साधारण सदस्यसहित सबै जिम्मेवारीबाट औपचारिक रूपमा राजीनामा दिएका छन्। बिहीबार अत्तरियामा पत्रकार सम्मेलन गर्दै उनले बदलिँदो राजनीतिक परिस्थिति, वैचारिक प्राथमिकता तथा नयाँ कार्यदिशाअनुसार पार्टी त्याग्ने निर्णय गरेको जानकारी दिएका हुन्।

चार वर्षदेखि राप्रपामा सक्रिय रहँदै राष्ट्र, राष्ट्रियता, लोकतान्त्रिक मूल्य–मान्यता तथा जनअधिकारको संरक्षणका लागि योगदान दिएको उल्लेख गर्दै विष्टले समयसँगै आफ्नो राजनीतिक सोच, सामाजिक दृष्टिकोण र सेवाको कार्यशैलीमा आएको परिवर्तनका कारण पार्टीबाट अलग हुने निष्कर्षमा पुगेको बताए।

राजीनामा वक्तव्यमा उनले पार्टी नेतृत्व, सहकर्मी, शुभेच्छुक तथा समर्थकप्रति आभार व्यक्त गर्दै पार्टीमा रहँदा प्राप्त विश्वास, सहयोग र अनुभवलाई आफ्नो जीवनको अमूल्य सम्पत्ति भएको उल्लेख गरेका छन्।

विष्टले औपचारिक रूपमा पार्टीको सदस्यता त्यागे पनि देश, समाज र जनताको सेवाबाट पछि नहट्ने स्पष्ट पारे। राष्ट्र, राष्ट्रियता, सुशासन, गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी तथा स्थानीय समस्याको समाधानका लागि आगामी दिनमा पनि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।

उनले सत्य, निष्पक्षता, सुशासन र समाज रूपान्तरणको अभियानमा निरन्तर लागिरहने उल्लेख गर्दै जनताको सेवा नै आफ्नो प्रमुख उद्देश्य रहने बताए। साथै, हालका लागि कुनै पनि राजनीतिक दलमा आबद्ध नहुने निर्णय गरेको जानकारी दिँदै आफू सामाजिक उत्तरदायित्व र जनसेवामै केन्द्रित रहने बताएका छन्।

विराज विष्टको राजीनामालाई कैलालीको स्थानीय राजनीतिक वृत्तमा अर्थपूर्ण घटनाका रूपमा हेरिएको छ। उनले तत्काल कुनै नयाँ राजनीतिक दलमा प्रवेश नगर्ने घोषणा गरे पनि भविष्यमा उनको राजनीतिक यात्राले कुन दिशा लिने भन्ने विषयलाई चासोका साथ हेरिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.