धनगढी : २४ औँ सत्याग्रहका क्रममा उपचाररत रहेका डा. गोविन्द केसी बिहीबार सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएका छन्। अस्पतालबाट डिस्चार्ज भएपछि उनी सार्वजनिक ई–रिक्सा चढेर धनगढी–१ स्थित कृष्ण मन्दिरको धर्मशालामा पुगेका हुन।
डा. केसी केही दिन सोही धर्मशालामा बसेर आराम गर्ने उनका सहयोगी अमृत जैसीले जानकारी दिए। उनका अनुसार हाल डा. केसीको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
स्वास्थ्य क्षेत्र सुधार तथा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसँग सम्बन्धित विभिन्न माग राख्दै डा. केसीले साउन ७ गतेदेखि धनगढीमा २४ औँ सत्याग्रह (अनशन) सुरु गरेका थिए। अनशनका क्रममा स्वास्थ्य अवस्था कमजोर भएपछि उनलाई साउन ९ गते सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो।
सरकारसँग माग सम्बोधन गर्ने सहमति भएपछि डा. केसीले साउन १२ गते जुस पिएर अनशन तोडेका थिए। त्यसयता अस्पतालमै उपचार गराइरहेका उनको स्वास्थ्यमा उल्लेखनीय सुधार आएपछि चिकित्सकले बिहीबार डिस्चार्ज गरेका हुन्।
डा. केसी केही दिन धनगढीमै आराम गरेपछि स्वास्थ्य अवस्थाअनुसार आगामी कार्यक्रम तय गर्ने जनाइएको छ।