साउन १५ मा देशभर आठौँ राष्ट्रिय खिर दिवस मनाइँदै

अत्तरिया  : नेपाली समाजमा परम्परागत रूपमा मनाइँदै आएको राष्ट्रिय खिर दिवस आज देशभर विविध कार्यक्रमका साथ मनाइँदै छ। असार १५ मा दही–चिउरा खाने परम्परापछि साउन १५ मा खिर खाने चलनलाई निरन्तरता दिँदै घरघरमा खिर पकाएर परिवार, आफन्त तथा इष्टमित्रसँग साटासाट गर्ने परम्परा कायम रहेको छ।

नेपाली संस्कृतिमा साउन महिनालाई धार्मिक र सांस्कृतिक दृष्टिले विशेष महत्त्वका साथ हेरिन्छ। विशेषगरी साउने झरीको समयमा दूध, चामल तथा विभिन्न गरम मसला मिसाएर बनाइने खिरले शरीरलाई आवश्यक ऊर्जा प्रदान गर्ने, रोगप्रतिरोधात्मक क्षमता बढाउने तथा स्वास्थ्यका लागि लाभदायी हुने जनविश्वास रहिआएको छ।

संस्कृत भाषामा ‘पायस’ भनिने खिरलाई सात्विक तथा उत्कृष्ट आहारका रूपमा लिने गरिन्छ। साउन महिनामा गाईभैँसीबाट पर्याप्त दूध उत्पादन हुने भएकाले परिवारका सदस्य, छोरीचेली तथा आफन्तलाई निम्तो दिएर खिर खुवाउने परम्परा पनि नेपाली समाजमा प्रचलित छ। धार्मिक मान्यताअनुसार भगवान् शिवको प्रिय महिना मानिने साउनमा देवता तथा पितृलाई खिर अर्पण गरेपछि मात्र खाने चलन रहेको छ।

परम्परागत चामलको खिरसँगै साबुदाना, सेवई, मकै, गाजरलगायतका परिकारबाट पनि खिर बनाउने प्रचलन बढ्दै गएको छ। पोषणविद्हरूका अनुसार गुणस्तरीय दूधबाट तयार गरिएको खिर ऊर्जा, प्रोटिन, क्याल्सियम तथा अन्य आवश्यक पोषक तत्त्वको राम्रो स्रोत भएकाले सन्तुलित मात्रामा सेवन गर्दा स्वास्थ्यका लागि लाभदायी हुन्छ।

खिरको सांस्कृतिक, पोषणीय तथा आर्थिक महत्त्वलाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ लाई ‘राष्ट्रिय खिर दिवस’ का रूपमा मनाउन सुरु गरेको हो। यस दिवसले दुग्ध उत्पादनको प्रवर्द्धनसँगै नेपाली मौलिक खानपान र संस्कृतिको संरक्षणमा समेत योगदान पुर्‍याउने विश्वास गरिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.