चेक अनादर मुद्दामा बाजुराको बाउली खोला पुल निर्माण कम्पनीका ठेकेदार बुढा पक्राउ

बाजुरा  : बाजुरा बडीमालिका नगरपालिका ८ बाउली खोलामा पुल निर्माणको जिम्मा लिएका ठेकेदार भोजराज बुढा पक्राउ परेका छन्। अछामको पञ्चदेवल विनायक नगरपालिका–५ निवासी ४० वर्षीय बुढा चेक अनादर मुद्दामा पक्राउ परेका हुन्।

जिल्ला अदालत अछामले चेक अनादर मुद्दामा प्रतिवादीका नाममा २० लाख ७० हजार रुपैयाँ विगो तोकेको थियो। उक्त विगो रकम तिर्न नसकेपछि अदालतले विगोबापत दुई वर्ष कैद सजायको फैसला गरेको थियो। तर फैसला कार्यान्वयन हुनुअघि नै फरार रहेका बुढालाई जिल्ला अदालत अछामको पक्राउ आदेशअनुसार पक्राउ गरिएको हो।

बुढालाई बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक नरेशबहादुर शाहीको कमान्डमा खटिएको प्रहरी टोलीले बडीमालिका नगरपालिका–८ स्थित बाउलीमा रहेको उनको डेरा कोठाबाट पक्राउ गरेको हो।

पक्राउ परेका बुढालाई हाल जिल्ला प्रहरी कार्यालय बाजुराको हिरासतमा राखिएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतमा उपस्थित गराउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

बडीमालिका नगरपालि ८ बाउली खोलामा रहेको निर्माणाधीन पुल सडक डिभिजन कार्यालयसँग भएको सम्झौता अनुसार ठेकेदार बुढा सहितको निर्माण कम्पनी टीडीआर–जुगल–कौशिक जेभीले पुल निर्माणको जिम्मा लिए पनि पाँच वर्षदेखि अलपत्र अवस्थामा छ । २०७८ साल असार १५ गते सम्झौता भएको यो पुलको म्याद २०७९ साल अर्थात १६ महिनामै सकिने लक्ष्य थियो । तर काम सम्पन्न नभएपछि पटक–पटक म्याद थप गरिए पनि हालसम्म पुल निर्माण हुन सकेको छैन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.