मोटरसाइकलको ठक्करबाट घाईते कैलालीको गौरीगंगाका ७ वर्षीय बालकको मृत्यु

अत्तरिया  : कैलालीमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका ७ वर्षीय बालकको उपचारका क्रममा मृत्यु भएको छ। जिल्लाको गौरीगङ्गा नगरपालिका–४ स्थित द ग्रीन स्टार इङ्ग्लिस स्कुलमा कक्षा १ मा अध्ययनरत आरभ बोहराको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक हिरासिंह महराले जानकारी दिए। उनका अनुसार भेन्टिलेटरमा राखेर उपचार भइरहेका बालकलाई चिकित्सकले मृत घोषणा गरेका हुन्।

आरभलाई मङ्गलबार पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलले ठक्कर दिएको थियो। दुर्घटनामा संलग्न मोटरसाइकल चालक २६ वर्षीय सागर चौधरी र पछाडि सवार गुटराम डगौरा थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार चालकसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) समेत नभएको खुलेको छ।

मृतकका बुवा दिलीप बोहराले विद्यालयको नियमित बिदा १२ बजे हुने भए पनि छोरालाई साढे ११ बजामै विद्यालयबाट बाहिर पठाइएको आरोप लगाएका छन्। बर्खे बिदाका बेला पनि विद्यालय सञ्चालन गरिएको भन्दै उनले घटनाको निष्पक्ष छानबिन तथा जिम्मेवारमाथि कारबाहीको माग गरेका छन्।

विद्यालय प्रशासनले भने आरभलाई छिमेकी विद्यार्थीकी हजुरआमासँगै घर पठाइएको दाबी गर्दै आफूहरूको लापरवाही नभएको दावी गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.