अत्तरिया : नेपाली कांग्रेसका नेता नरनारायण शाह ‘मनु’ले पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई संयमित र अभिभावकीय भूमिका निर्वाह गर्दै कांग्रेसलाई एकढिक्का बनाउने वातावरण निर्माण गर्न आग्रह गरेका छन्।
शाहले आज मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत देउवालाई सम्बोधन गर्दै पछिल्लो राजनीतिक परिस्थितिको वस्तुगत मूल्यांकन गर्न आग्रह गरेका हुन्। उनले देउवाको वरिपरि रहेका व्यक्तिहरूबाट हुने अत्यधिक प्रशंसा, आश्वासन र राजनीतिक वातावरणले वास्तविक अवस्थाको सही आकलन गर्न कठिन हुन सक्ने टिप्पणी गरेका छन्।
विमानस्थलदेखि नै फूलमाला, नाराबाजी र रङ्गमञ्चजस्तो वातावरण बनाएर देउवालाई वास्तविकताभन्दा फरक राजनीतिक चित्र प्रस्तुत गरिएको उनको भनाइ छ।
शाहले देउवा नेपाली कांग्रेसका अग्रज नेता भएकाले अहिले उनले निर्वाह गर्ने भूमिका पनि त्यही उचाइअनुसारको हुनुपर्ने बताएका छन्। उनले वर्तमान परिस्थितिमा ‘आत्तिनुपर्ने अवस्था नरहेको’ उल्लेख गर्दै कांग्रेस र देउवाको राजनीतिक सम्मान जोगाउने भूमिका महामन्त्री गगन थापाले निर्वाह गर्न सक्ने दाबी गरेका छन्।
त्यसका लागि देउवा स्वयं पनि सहज, संयमित र अभिभावकीय भूमिकामा प्रस्तुत हुनुपर्ने शाहको सुझाव छ।
परिवार तथा राजनीतिक जीवनमा संकटका अवस्था सिर्जना हुँदा धेरैले खुलेर बोल्ने साहस नगरेको स्मरण गर्दै शाहले त्यतिबेला पनि पार्टीको गरिमा र नेतृत्वको सम्मानलाई केन्द्रमा राखेर बोल्नेहरूमध्ये गगन थापा अग्रपंक्तिमा रहेको दाबी गरेका छन्।
‘इतिहासले यस्ता क्षणहरूलाई अवश्य सम्झन्छ,’ शाहले लेखेका छन्।
राजनीतिक जीवनको अन्तिम चरणमा पदभन्दा इज्जत, योगदान र इतिहासले सम्झिने विरासत महत्वपूर्ण हुने उल्लेख गर्दै उनले देउवालाई आगामी पुस्ताका लागि विभाजन होइन, एकता र सहमतिको विरासत छाड्न आग्रह गरेका छन्।
‘कांग्रेस फुट्न नदिनुहोस्। पार्टीलाई एकढिक्का बनाउने वातावरण निर्माण गर्नुहोस्,’ शाहले देउवालाई आग्रह गरेका छन्।
उनले देउवाको सम्मान र कांग्रेसको भविष्य एकअर्कासँग जोडिएको उल्लेख गर्दै अहिलेको अवस्थामा संयमित र दूरदर्शी कदम चाल्न सुझाव दिएका छन्।
‘हजुरको सम्मान पनि जोगिनेछ, कांग्रेसको भविष्य पनि जोगिनेछ। आत्तिनु पर्दैन अंकल—समयले हजुरलाई अझ ठूलो भूमिका खेल्ने अवसर दिएको छ,’ शाहले फेसबुकमा लेखेका छन्।