११ महिनादेखि अमेरिकामा रहेका सुदूरपश्चिमका सांसद देउवा पदमुक्त

अत्तरिया  : सुदूरपश्चिम प्रदेशसभाका सदस्य तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा पदमुक्त भएका छन् । प्रदेशसभा बैठकमा लगातार १० भन्दा बढी पटक बिना सूचना अनुपस्थित रहेको भन्दै प्रदेशसभा सचिवालयले तयार गरेको पद रिक्तसम्बन्धी टिप्पणी आदेश सभामुख भीमबहादुर भण्डारीले सदर गरेपछि देउवाको प्रदेशसभा सदस्य पद रिक्त भएको हो । सभामुखले आगामी प्रदेशसभा बैठकमा यसबारे औपचारिक जानकारी गराउने तयारी गरेका छन् ।

देउवा गत वर्ष भदौ २८ गते जेनजी आन्दोलनलगत्तै व्यक्तिगत कामका लागि अमेरिका गएका थिए । त्यसक्रममा स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकको सल्लाहअनुसार उपचार तथा विश्राममा रहेको भन्दै उनी अमेरिकामै बसेका छन् । अमेरिका गएको करिब ११ महिना बितिसक्दा पनि उनी नेपाल फर्किएका छैनन् ।

छैटौँ अधिवेशनका क्रममा लगातार पाँच बैठकमा अनुपस्थित भएपछि देउवाले चैत २३ गते प्रदेशसभा सचिवालयलाई पत्र पठाउँदै आफू स्वास्थ्य परीक्षण तथा उपचारका क्रममा अमेरिकामा रहेको जानकारी गराएका थिए। स्वास्थ्यमा पूर्ण सुधार भएपछि नेपाल फर्किएर संसदीय जिम्मेवारीमा सक्रिय हुने प्रतिबद्धता उनले पत्रमार्फत जनाएका थिए । तर, त्यसयता चार महिनाभन्दा बढी समय बितिसक्दा पनि उनी नेपाल फर्किएका छैनन् ।

प्रदेशसभा सचिवालयका अनुसार छैटौँ अधिवेशनमा २५ वटा बैठक बसेकामा देउवा आठ दिन मात्रै उपस्थित भएका थिए । त्यसपछि सातौँ र आठौँ अधिवेशनका कुनै पनि बैठकमा उनी उपस्थित भएनन् । पछिल्ला २७ वटा बैठकमा उनको हाजिरी नरहेको सचिवालयको अभिलेखमा उल्लेख छ ।

सुदूरपश्चिम प्रदेशसभाको दोस्रो कार्यकालमा हालसम्म १२८ वटा बैठक बसेका छन् । तीमध्ये देउवा ६० वटा बैठकमा मात्रै उपस्थित भएका छन् । नेपालको संविधानको धारा १८० को उपधारा (घ) मा सभालाई सूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित भएमा प्रदेशसभा सदस्यको स्थान रिक्त हुने व्यवस्था छ । सुदूरपश्चिम प्रदेशसभा नियमावली, २०८० मा पनि यससम्बन्धी व्यवस्था गरिएको छ । सोही कानुनी व्यवस्थाअनुसार देउवाको पद रिक्त गरिएको हो ।

अमेरिकामा रहेका देउवाको खातामा प्रदेशसभा सचिवालयले नियमित रूपमा सेवा–सुविधाबापतको रकम पठाउँदै आएको थियो। सचिवालयका अनुसार ११ महिनाको अवधिमा मात्रै उनले ७ लाख ५३ हजार ५ सय रुपैयाँ सेवा–सुविधाबापत बुझेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.