धनगढी–काठमाडौं यात्रामा नयाँ आयाम : ‘आसन एक्सप्रेस’का पाँच एसी बस सञ्चालनमा

धनगढी  : खप्तड यातायात प्रा.लि.ले धनगढी–काठमाडौं रुटमा यात्रुलाई थप आरामदायी, सुरक्षित र सुविधासम्पन्न सेवा दिने उद्देश्यले पाँच वटा उच्चस्तरीय एसी बस सञ्चालनमा ल्याएको छ । प्रा.लि.ले शुक्रबार धनगढी बसपार्कमा एक कार्यक्रम आयोजना गरी ‘आसन एक्सप्रेस’ सेवाको औपचारिक उद्घाटन गरेको हो ।
नयाँ सञ्चालनमा आएका बसमा टु–बाइ–वान (२×१) भिभिआईपी सोफा सिट जडान गरिएको छ । यात्रुलाई लामो दूरीको यात्रामा बढी आराम र सुविधा प्रदान गर्ने उद्देश्यले बसमा आधुनिक सुविधासहितको व्यवस्था गरिएको खप्तड यातायात प्रा.लि.का अध्यक्ष अनन्तराज जोशीले बताए ।
समारोहमा कथावाचक आचार्य सत्यराज अवस्थी प्रमुख अतिथिका रूपमा सहभागी थिए ।
कार्यक्रममा राष्ट्रिय यातायात व्यवसायी महासंघ तथा यातायात महासंघका पदाधिकारी, कैलालीमा सञ्चालित विभिन्न यातायात प्रा.लि.का प्रतिनिधि, यातायात मजदुर तथा सञ्चारकर्मीको सहभागिता थियो ।
उद्घाटन समारोहमा यातायात व्यवसायीहरूले व्यवसाय सञ्चालनका क्रममा आफूहरूले भोग्दै आएका समस्या तथा चुनौतीबारे समेत धारणा राखेका थिए । व्यवसायीहरूले यातायात क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन राज्यको प्रभावकारी भूमिका आवश्यक रहेको बताएका थिए ।
कार्यक्रममा यातायात क्षेत्रको सुधार, व्यवसायीले भोगिरहेका समस्या, मजदुरका सवाल तथा यात्रुलाई थप गुणस्तरीय सेवा उपलब्ध गराउने विषयमा समेत छलफल भएको थियो ।
खप्तड यातायात प्रा.लि.ले नयाँ सेवामार्फत धनगढीबाट काठमाडौंसम्मको लामो दूरीको यात्रालाई थप सहज र आरामदायी बनाउने लक्ष्य लिएको जनाएको छ । ‘आसन एक्सप्रेस’को सञ्चालनसँगै सुदूरपश्चिमबाट काठमाडौं आवतजावत गर्ने यात्रुले उच्चस्तरीय एसी तथा भिभिआईपी सोफा सिटसहितको नयाँ यात्रा विकल्प पाउने भएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.