छाडा चौपाया व्यवस्थापनमा गोदावरीको छलफल निष्कर्षविहीन

अत्तरिया  : गोदावरी नगरपालिकामा छाडा पशुचौपाया व्यवस्थापनका लागि आयोजित सर्वपक्षीय छलफल ठोस निष्कर्षमा पुग्न नसकी टुंगिएको छ। छाडा चौपायाको दीर्घकालीन व्यवस्थापनका लागि स्थानीयस्तरबाट विभिन्न सुझाव आए पनि व्यवस्थापनस्थल, आवश्यक पूर्वाधार र कार्ययोजनाबारे नगरपालिका र सरोकारवालाबीच सहमति जुट्न नसकेको हो।

छलफलमा सहभागीहरूले छाडा चौपायाका कारण सडक दुर्घटना, कृषि बालीमा क्षति तथा सार्वजनिक क्षेत्रमा विभिन्न समस्या बढ्दै गएको भन्दै तत्काल व्यवस्थापनको आवश्यकता औंल्याएका थिए। व्यवस्थापनका लागि सम्भावित स्थान पहिचान, आवश्यक पूर्वाधार निर्माण तथा सञ्चालनको जिम्मेवारीबारे समेत सुझाव प्रस्तुत गरिएको थियो।

तर, व्यवस्थापनका लागि स्थान छनोटलगायत विषयमा स्पष्ट सहमति हुन नसकेपछि थप छलफल आवश्यक रहेको निष्कर्ष निकालिएको छ। सामुदायिक वनका प्रतिनिधि, स्थानीय सरोकारवाला तथा अन्य सम्बन्धित पक्षसँग थप छलफल गरेर समाधान खोज्ने सहमति भएको छ।

यसैअनुसार प्रदेश सांसदसहितको सहभागितामा भदौ ११ गते पुनः बैठक बस्ने सहमति भएको छ। यसअघि छाडा चौपाया व्यवस्थापनको माग गर्दै नगरपालिका पुगेका स्थानीयले छलफल लिखित निर्णयबिना नै टुंग्याइएको भन्दै असन्तुष्टि जनाएका थिए। स्थानीयले नगरपालिकाले समस्या समाधानका लागि ठोस निर्णय लिनुपर्ने माग गर्दै आएका छन्।

छाडा चौपाया व्यवस्थापनमा नगरपालिकाले चासो नदिएको भन्दै स्थानीयले तीन दिनअघि नगर प्रमुख र उपप्रमुखको कार्यकक्षमा तालाबन्दी समेत गरेका थिए। त्यसपछि नगर प्रमुख भट्टले समस्या समाधानका लागि सर्वपक्षीय छलफल आह्वान गरेका हुन्।

तर, पहिलो चरणको छलफलबाटै ठोस निर्णय हुन नसकेपछि छाडा चौपाया व्यवस्थापनको समस्या तत्काल समाधान हुनेमा स्थानीयको आशंका कायमै छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.