अत्तरिया बस दुर्घटना : मृतक परिवार र यातायात प्रालिबीच सहमति, आन्दोलनका कार्यक्रम स्थगित 

अत्तरिया  : कैलालीको गोदावरी नगरपालिका–२ स्थित अत्तरिया बसपार्कमा बसको ठक्करबाट मृत्यु भएकी ५३ वर्षीया सिन्की बोहराको परिवार र महाकाली यातायात प्रालिबीच मंगलबार साँझ सहमति भएको छ।

सहमतिअनुसार पीडित परिवारलाई कानुनबमोजिम १० लाख रुपैयाँसहित आवश्यक क्षतिपूर्ति उपलब्ध गराइनेछ। दुर्घटनामा संलग्न बस चालकलाई पनि कानुनअनुसार कारबाही गर्ने सहमति भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) हिरासिंह महराले जानकारी दिए।

छलफलमा सहभागी बझाङी सेवा समाजका अध्यक्ष झलक ऐडीले पीडित पक्षलाई कानुनी प्रक्रियाअनुसार क्षतिपूर्ति दिने र चालकलाई कानुनबमोजिम कारबाही गर्ने सहमति भएको बताए।

मंगलबार दिउँसोभर पीडित पक्ष र यातायात व्यवसायीबीच वार्ता भए पनि लामो समयसम्म सहमति जुट्न सकेको थिएन। सहमति नभएपछि पीडित पक्षले बुधबारदेखि अत्तरियामा आन्दोलन तथा चक्काजाम गर्ने घोषणा गरेको थियो। तर साँझ सहमति भएपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको मृतकका भतिजा तथा बझाङको मस्टा गाउँपालिका–६ का वडाध्यक्ष शिवराज बोहराले बताए।

सहमति जुटेसँगै मृतकको शव बुझ्ने तयारी गरिएको उनले जानकारी दिए। आइतबार महेन्द्रनगरबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख ९५६ नम्बरको महाकाली यातायातको बसले अत्तरिया बसपार्कमा पानी बेचिरहेकी बोहरालाई ठक्कर दिएको थियो। बसको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको थियो।

दुर्घटनापछि आक्रोशित स्थानीय तथा मृतकका आफन्तले आइतबारदेखि अत्तरियामा प्रदर्शन गर्दै आएका थिए। प्रहरीले दुर्घटनामा संलग्न बस र चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका–२ का २४ वर्षीय रोहितसिंह धामीलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.