अत्तरिया : गोदावरी नगरपालिकाले रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि विशेष सहयोगको घोषणा गरेको छ ।
नगरपालिकाले विज्ञप्ति जारी गर्दै बाढीबाट रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेको छ ।
नगरपालिकाका अनुसार बाढीपीडितलाई सहयोग गर्न नगरपालिकाका सम्पूर्ण पदाधिकारी तथा कर्मचारीले आफ्नो सेवा, सुविधा र पारिश्रमिकबाट दुई दिन बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।
यस्तै, प्रभावित जिल्लामा रहेका गोदावरी नगरबासीमध्ये परिवार तथा आफन्तको सम्पर्कमा नआएका व्यक्तिबारे तत्काल नगरपालिकालाई जानकारी गराउन आग्रह गरिएको छ । नगरपालिकाले हराइरहेका तथा सम्पर्कविहीन व्यक्तिको खोजी र उद्धारमा सहयोग गर्न उद्योगी, व्यवसायी, शिक्षक, कर्मचारी, समाजसेवी तथा नागरिक समाजलाई आ–आफ्नो क्षमताअनुसार सहयोग गर्न अपिल गरेको छ ।
नगरपालिकाले विपद्को समयमा सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेको भन्दै प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि आवश्यक पहल गरिने जनाएको छ ।