विपद्का बेला स्वास्थ्य सेवामा जुट्न सिएमए स्वास्थ्यकर्मीलाई संघको अपिल

अत्तरिया  : नेपाल स्वास्थ्य व्यवसायी परिषद् (एनएचपीसी) मा दर्ता भएका निजी तथा सरकारी स्वास्थ्य प्राविधिकलाई विपद्का बेला आवश्यक सहयोगमा जुट्न नेपाल सिएमए संघ (क्यान) केन्द्रीय कार्यालयले अपिल गरेको छ ।

संघले आफ्ना मातहतका सम्पूर्ण निजी तथा सरकारी सदस्यलाई सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी प्राथमिक उपचार, औषधि व्यवस्थापन तथा उद्धार कार्यमा व्यवस्थित रूपमा सहयोग गर्न आह्वान गरेको हो ।

विपद्का बेला तत्काल स्वास्थ्य सेवा आवश्यक पर्ने भएकाले स्वास्थ्य प्राविधिकहरूले आफ्नो सीप, ज्ञान र अनुभवलाई मानवीय सेवामा उपयोग गर्नुपर्ने संघले जनाएको छ । विशेषगरी ग्रामीण क्षेत्रमा चिकित्सकका रूपमा परिचित सिएमए स्वास्थ्यकर्मीहरू विपद्का समयमा प्राथमिक उपचार तथा उद्धार कार्यमा स्वयंसेवकका रूपमा खटिँदै आएका छन् ।

संघका कार्यवाहक महासचिव ईश्वरप्रसाद चपाईद्वारा हस्ताक्षरित विज्ञप्तिमा बाढी, पहिरो, आगलागी, दुर्घटनालगायतका विपद्का घटनामा विगतदेखि नै सिएमए स्वास्थ्यकर्मीहरूले घाइते तथा प्रभावितलाई तत्काल प्राथमिक उपचार उपलब्ध गराउँदै आएको उल्लेख छ ।

स्थानीयस्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउने क्षमता भएका स्वास्थ्यकर्मीको परिचालनले विपद्का समयमा उपचार सेवामा सहजता पुग्ने संघको विश्वास छ । संघले विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री तथा औषधिको व्यवस्थापन, प्राथमिक उपचार र आवश्यक उद्धारमा सक्रिय सहभागिता जनाउन सदस्यहरूलाई आग्रह गरेको छ ।

विपद्का बेला स्वास्थ्यकर्मीको सुरक्षित र व्यवस्थित परिचालनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै संघले स्थानीय तह, सुरक्षा निकाय, स्वास्थ्य संस्था तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरेर मानवीय सेवामा सिएमए स्वास्थ्यकर्मीको भूमिका थप प्रभावकारी बनाउने जनाएको छ ।

नेपाल सिएमए संघको केन्द्रीय कार्यसमिति तथा संरक्षक समितिले गरेको आह्वानबारे संयोजक गणेश जिमी साउदले जानकारी दिएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.