अत्तरिया । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले रसुवाको भोटेकोसी बाढीबाट प्रभावित नागरिकका लागि मानवीय सहायता तथा राहतस्वरूप आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।
संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो एक महिनाको पारिश्रमिक सहयोग गर्ने घोषणा गरेका छन्। यस्तै, संसदीय दलका अन्य प्रदेशसभा सदस्यहरूले १० दिनको पारिश्रमिक बराबरको रकम सहयोग गर्ने भएका छन्।
संसदीय दलका अनुसार प्रदेशसभा सदस्यहरूको पारिश्रमिकबाट संकलन हुने रु. ३ लाख ६० हजार ८ सय ३३ रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ।
भोटेकोसी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम उपलब्ध गराउन लागिएको संसदीय दलले जनाएको छ।
प्राकृतिक विपत्तिको समयमा पीडित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि राज्य तथा विभिन्न संघसंस्थाबाट सहयोग जुटिरहेका बेला कांग्रेस सुदूरपश्चिम संसदीय दलले पनि आफ्नो तर्फबाट आर्थिक सहयोग गर्ने निर्णय गरेको हो।