कञ्चनपुर : रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि कञ्चनपुरका सम्पर्कविहीन मानिसमध्ये ७ जना सम्पर्कमा आएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार कञ्चनपुरका सम्पर्कविहीन ३९ जनामध्ये ७ व्यक्ति परिवारको सम्पर्कमा आएका हुन्।
हाइड्रोपावरमा चालकका रूपमा काम गर्ने शुक्लाफाँटा नगरपालिका ३ पिपलाडीका ३४ वर्षीय सुनिल चौधरी, नुवाकोटको केटीएम नर्सिङ क्याम्पसबाट फिल्ड खटिएकी नर्स भीमदत्त नगरपालिका ६ की ३४ वर्षीया चन्दा जोशी, हाइड्रोपावरमा काम गर्ने बेलडाँडी गाउँपालिका ३ कमरीका २२ वर्षीय अजय राना, सोही ठाउँका २५ वर्षीय सुरेश राना र २५ वर्षीय सन्तोष राना परिवारको सम्पर्कमा आएका हुन्।
यस्तै रसुवामा नेपाली सेनाको सैनिक पदमा कार्यरत भीमदत्त नगरपालिका ८ तिलाचौरका ३५ वर्षीय श्याम पन्त पनि सम्पर्कमा आएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी टेकबहादुर रावतका अनुसार रसुवा बाढीमा परेर घाइते कञ्चनपुरका राजेन्द्र भट्ट र प्रदीप चन्द भने अहिले उपचारमा छन्।
अझै रसुवामा कार्यरत नेपाली सेनाका लेसनायक कृष्णपुर नगरपालिका ५ का रमेशराज जोशी, टिमुरेका कार्यरत सेनाकै कृष्णपुर नगरपालिका ४ का हिक्मतबहादुर पाल, इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत वेदकोट नगरपालिका ८ का प्रहरी हवलदार नरेन्द्रप्रसाद भट्ट, टिमुरे भन्सार कार्यालयमा कार्यरत भीमदत्त नगरपालिका १३ का नरेश जोशीसहित कञ्चनपुरका ३० जना अझै सम्पर्कविहिन छन्। तीमध्ये अधिकांश हाइड्रोपावरमा काम गर्थे।