संरचनागत सुधारसँगै राज्यका अंगलाई योजनागत रूपमा सबलीकरण गर्नुपर्छ : मुख्यमन्त्री भट्ट

धनगढी  : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संरचनागत सुधारसँगै राज्यका सबै अंगलाई योजनागत रूपमा सबलीकरण गर्नुपर्ने बताएका छन् ।

सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सोमबार आयोजना गरेको जिल्ला समन्वय समितिका पदाधिकारीहरूसँग स्थानीय शासन कार्यसम्पादन मूल्यांकन प्रणाली सम्बन्धी कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले राज्यका संरचना बलियो भए मात्रै प्रदेश र देश बलियो बन्ने बताएका हुन ।

उनले प्रदेश र देशको विकासका लागि राज्यका सबै संरचनालाई प्रभावकारी र सक्षम बनाउन आवश्यक रहेको उल्लेख गरे । आर्थिक तथा प्रभावकारिताको दृष्टिकोणले जिल्ला समन्वय समितिलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री भट्टले प्रदेशले निर्वाह गर्नुपर्ने दायित्व पूरा गर्न आफू सधैँ तत्पर रहेको बताए ।

मुख्यमन्त्री भट्टले सुशासन, वैज्ञानिक सोच र दृष्टिकोणमा आधारित सेवा प्रवाहमार्फत नागरिकलाई प्रभावकारी सेवा तथा विकासको अनुभूति दिलाउन प्रदेश सरकार अघि बढिरहेको बताए ।

कृषि, पर्यटन तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै सुदूरपश्चिमलाई समृद्ध बनाउने दिशामा प्रदेश सरकार अघि बढिरहेको उल्लेख गर्दै उनले विकास र समृद्धिको अभियानमा सबै पक्षलाई सक्रियतापूर्वक लाग्न आग्रह गरे ।
स्थानीय तह तथा जिल्ला समन्वय समितिको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन एलजिपीएस प्रणाली महत्वपूर्ण हुने बताउँदै उनले यसको प्रभावकारी कार्यान्वयनमा सम्बन्धित सबै पक्षको भूमिका आवश्यक रहेको उल्लेख गरे ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.