धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का सुरु हुने तर वर्षौँसम्म सम्पन्न नहुने अवस्थाको अन्त्य गरिने बताएका छन ।
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा सोमबार मुख्यमन्त्री भट्टले क्रमागत तथा बहुवर्षीय ठेक्काहरूलाई आवश्यकताको अवस्था र प्राथमिकताका आधारमा अगाडि बढाइने बताएका हुन।
प्रदेशका कतिपय सडक आयोजना ठेक्का लागेर पनि लामो समयदेखि अलपत्र अवस्थामा रहेको उल्लेख गर्दै उनले आयोजना कार्यान्वयनपूर्व आवश्यक साइड क्लियरेन्स, सुरक्षा तथा अन्य व्यवस्थापनका काम सुनिश्चित गर्नुपर्नेमा जोड दिए। यस्ता समस्या समाधान भए निर्माण कार्यले गति लिने उनको भनाइ थियो।
मुख्यमन्त्री भट्टले निर्माण क्षेत्रसँग सम्बन्धित नीतिगत तथा कानुनी समस्या समाधान गर्ने जिम्मेवारी राज्यको भएको बताउँदै निर्माण व्यवसायीहरूले पनि सम्झौताअनुसारका काम समयमै सम्पन्न गर्न तदारुकताका साथ अघि बढ्नुपर्ने धारणा राखे।
प्रदेश सरकारले लामो समयदेखि अड्किएर रहेका सडक तथा अन्य पूर्वाधार आयोजनालाई तदारुकताका साथ अघि बढाउने संकल्प गरिसकेको बताउँदै मुख्यमन्त्री भट्टले अब निर्माण कार्यलाई निश्चित गति र परिणाममुखी ढंगले अघि बढाउनुपर्नेमा जोड दिए।