प्रहरी अधिकार नपाउँदा प्रदेश सरकार ‘अपाङ्गसरह’ : मुख्यमन्त्री भट्ट

सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने व्यक्ति तथा संस्था सम्मानित

धनगढी  : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रहरीसम्बन्धी अधिकार प्रदेश सरकारलाई हस्तान्तरण नहुँदा शान्तिसुरक्षा कायम गर्न र अपराध नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्न कठिनाइ भइरहेको बताएका छन् । उनले संविधानले प्रदेश सरकारलाई दिएको अधिकार कार्यान्वयन गर्दै प्रहरीसम्बन्धी अधिकारसमेत प्रदेश तहमा हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीमा आयोजित ७१ औँ प्रहरी दिवस समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले प्रहरीसम्बन्धी अधिकारविहीन प्रदेश सरकारको अवस्था अपाङ्गसरह भएको टिप्पणी गरे ।

‘प्रहरीसम्बन्धी अधिकार नभएकाले प्रदेश सरकार अपाङ्गसरह भएको छ । संविधानले दिएको अधिकार कार्यान्वयन हुनुपर्छ,’ उनले भने ।

प्रदेशको शान्तिसुरक्षा, अपराध नियन्त्रण र नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन प्रहरीको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उनले प्रहरीसम्बन्धी अधिकार प्रदेश सरकारलाई प्राप्त भएमा सुरक्षा व्यवस्थापन थप प्रभावकारी बनाउन सकिने बताए ।

मुख्यमन्त्री भट्टले प्रहरी संगठनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्दै व्यावसायिक, दक्ष र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए । प्रहरी संगठनमा सुधार हुँदै गएको उल्लेख गर्दै उनले अनुसन्धान प्रणाली र अपराध अनुसन्धानको क्षमतालाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।

मुख्यमन्त्री भट्टले कञ्चनपुरकी निर्मला पन्तको हत्या घटनाका दोषी अझै पक्राउ पर्न नसक्नु दुःखद भएको बताए । प्रहरी दक्ष हुँदाहुँदै पनि उक्त घटनाले निष्कर्ष पाउन नसक्नु गम्भीर विषय भएको उनको भनाइ थियो ।

‘प्रहरी दक्ष हुँदाहुँदै पनि निर्मला पन्तको घटनाले पूर्णता नपाउनु दुःखद हो । उक्त घटनाका दोषी पत्ता लाग्नुपर्छ,’ उनले भने ।

यस्ता घटनाको पुनरावृत्ति रोक्न प्रदेश सरकार प्रहरीसँग सहकार्य गर्न तयार रहेको उनले बताए । पछिल्लो समय साइबर अपराध, सामाजिक सञ्जालको दुरुपयोग, अनलाइन ठगी तथा डिजिटल माध्यमबाट हुने अपराध बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले लागूऔषधको दुरुपयोगले युवाको भविष्यसमेत जोखिममा पारिरहेको उल्लेख गरे ।

खुला सीमाका कारण हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्नु पनि प्रहरीको महत्वपूर्ण जिम्मेवारी भएको उनले बताए । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री खुसीराम थारूले प्रहरीलाई वीरताको प्रतीकका रूपमा चित्रण गर्दै कानुनी राज्यको अनुभूति गराउने, दण्डहीनता अन्त्य गर्ने र सुशासन कायम गर्ने कार्यमा प्रहरीले महत्वपूर्ण योगदान पुर्‍याएको बताए ।

प्रहरीकै कारण नागरिकले शान्ति र सुरक्षाको अनुभूति गर्न पाएको उल्लेख गर्दै उनले नेपाल प्रहरीले अन्तर्राष्ट्रिय स्तरमा समेत राम्रो छवि बनाएको बताए । उनले प्रहरी कर्मचारीलाई उच्च मनोबलका साथ जिम्मेवारी निर्वाह गर्न आग्रह गरे ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक सानुराम भट्टराईले प्रहरी कर्मचारीको त्याग, समर्पण र बलिदानले संगठनलाई थप मजबुत बनाएको बताए ।

नागरिकको सुरक्षा, अपराध नियन्त्रण र कानुन कार्यान्वयनलाई प्राथमिकतामा राख्दै बदलिँदो परिस्थितिअनुसार प्रहरीलाई नागरिकमैत्री तथा प्रविधिमैत्री बनाउने प्रयास भइरहेको उनले जानकारी दिए ।

तीनै तहका सरकारसँग समन्वय र सहकार्य गर्दै नागरिकको सुरक्षा, अपराध नियन्त्रण तथा विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा प्रहरी सक्रिय रहने उनको भनाइ थियो । विभिन्न प्रकृतिका अपराध नियन्त्रणका लागि प्रहरी संगठन प्रतिबद्ध रहेको उनले बताए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र शाहीले लागूऔषध, साइबर अपराध, अनलाइन ठगी तथा डिजिटल अपराध नियन्त्रणका लागि प्रहरीले सक्रिय रूपमा काम गरिरहेको बताए ।

अपराध नियन्त्रण प्रहरीको मात्र प्रयासबाट सम्भव नहुने उल्लेख गर्दै उनले नागरिकको साथ, सहयोग र सूचना पनि उत्तिकै आवश्यक रहेको बताए । कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको शुभकामना सन्देशसमेत वाचन गरिएको थियो ।

पूर्वप्रहरी सुदूरपश्चिम प्रदेश कार्यसमितिका उपाध्यक्ष नैनबहादुर साउदले प्रहरी संगठन कमजोर हुँदै गएकोप्रति चिन्ता व्यक्त गरे । उनले संगठनका असल अभ्यासलाई निरन्तरता दिँदै कानुन कार्यान्वयनमा थप प्रभावकारी हुनुपर्नेमा जोड दिए ।

सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने व्यक्ति तथा संस्था सम्मानित
७१औँ प्रहरी दिवसका अवसरमा सामाजिक सेवा, सहयोग तथा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेमा दृष्टि फाउन्डेसनकी प्रमुख कल्पना भट्ट, मानव सेवा आश्रमका लोकेन्द्र शाह, निसर्ग अस्पतालका अध्यक्ष तीर्थ पन्त, माया मेट्रो अस्पतालका अध्यक्ष धीरेन्द्र साउद, एसटीएस इन्टरप्राइजेजका राजकुमार श्रेष्ठ, सहारा घरका सञ्चालक बलबहादुर बिष्ट र नेपाल प्रहरी धनगढी स्कुलका शिक्षक कमलराज भट्ट रहेका छन् ।

त्यसैगरी, कार्यसम्पादनका आधारमा जिल्ला प्रहरी कार्यालय बाजुरा पहिलो भएको भन्दै प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहरालाई सम्मान गरिएको थियो ।

प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रमले प्रहरी संगठनको योगदानको स्मरण गर्नुका साथै बदलिँदो सुरक्षा चुनौती सामना गर्न प्रहरी, सरकार र नागरिकबीचको सहकार्यलाई थप सुदृढ बनाउनुपर्ने सन्देश दिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.