अत्तरियामा कृषि बजार व्यवस्थापन समितिको चाडपर्वलक्षित तरकारी घुम्ती सेवा सञ्चालन

अत्तरिया  : कैलालीको अत्तरिया स्थित कृषि उपज बजार व्यवस्थापन समिति (सब्जी मण्डी) ले चाडपर्वलाई लक्षित गर्दै तरकारी घुम्ती सेवा सञ्चालनमा ल्याएको छ।

समितिले बजार भित्रका व्यापारीहरूसँग तरकारी खरिद गरी अत्तरिया र लालपुर बजारमा उपभोक्तालाई सुपथ मूल्यमा बिक्री वितरण गरिरहेको छ। चाडपर्वका बेला उपभोक्तालाई सहज रूपमा ताजा, स्वच्छ र गुणस्तरीय तरकारी उपलब्ध गराउने उद्देश्यले घुम्ती सेवा सञ्चालन गरिएको समितिका कार्यालय प्रमुख कमलप्रसाद जोशीले जानकारी दिए।

उनका अनुसार समितिमार्फत विषादी परीक्षण प्रयोगशालाबाट परीक्षण तथा प्रमाणित भएका खानयोग्य तरकारी उपभोक्तालाई उपलब्ध गराउँदै आइएको छ। नेपाल सरकारको स्वामित्वमा रहेको यस बजार व्यवस्थापन समितिले उपभोक्तालाई सुलभ मूल्यमा स्वच्छ तथा गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ।

घुम्ती सेवामार्फत स्थानीय तथा स्वदेशी कृषि उत्पादनलाई प्रोत्साहन गर्ने, उत्पादक किसानलाई बजार उपलब्ध गराउने र उपभोक्तासम्म कृषि उपजको सहज पहुँच विस्तार गर्ने लक्ष्य लिइएको समितिले जनाएको छ।

यस सेवाले चाडपर्वका बेला उपभोक्तालाई सुपथ मूल्यमा तरकारी उपलब्ध गराउनुका साथै स्थानीय उत्पादनको बजारीकरणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.