कञ्चनपुरमा एक महिनामा ८६ ग्राम खैरो हिरोइन बरामद

अत्तरिया  : कञ्चनपुरमा पछिल्लो एक महिनाको अवधिमा लागू औषधको कारोबार तथा ओसारपसारमा संलग्न ३४ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतका प्रहरी कार्यालयहरूबाट खटिएको टोलीले असोज महिनामा लागू औषधसम्बन्धी २१ वटा मुद्दा दर्ता गर्दै ३४ जना पुरुषलाई नियन्त्रणमा लिइएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सार्वजनिक गरेको असोज महिनाको प्रगति विवरणअनुसार पक्राउ परेकाहरूको साथबाट ठूलो परिमाणमा लागू औषध बरामद गरिएको छ । प्रहरीले उनीहरूको साथबाट ८६ दशमलव शून्य सात ग्राम खैरो हिरोइन (ब्राउन सुगर) बरामद गरेको छ ।

त्यस्तै, विभिन्न किसिमका प्रतिबन्धित औषधीहरूतर्फ १२६ एम्पुल फेनारगन, ४०८ क्याप्सुल स्पास् र ८७ ट्याब्लेट ट्रामाडोल समेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीको तथ्याङ्कअनुसार असोज महिनामा जिल्लाभर कूल १०० वटा अपराधका मुद्दाहरू दर्ता भएका छन् । जसमध्ये ज्यान सम्बन्धी १० वटा, आत्महत्या १७ वटा, चोरी सम्बन्धी ६ वटा, संगठित तथा आर्थिक अपराध २७ वटा, सामाजिक अपराध १३ वटा, महिला तथा बालबालिका सम्बन्धी ६ वटा र सवारी ज्यानका २ वटा मुद्दा रहेका छन् ।

सीमावर्ती क्षेत्र तथा जिल्लाका विभिन्न स्थानहरूमा लागू औषध नियन्त्रणका लागि सुरक्षा गस्ती, चेकजाँच र निगरानीलाई थप कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर रावतले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.