अत्तरिया : कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. १ मा बालमैत्री वडा निर्माण अभियान अन्तर्गत लागुऔषध तथा नशालु पदार्थको प्रयोग र कारोबार विरुद्ध सचेतनामूलक माइकिङ तथा अनुगमन कार्यक्रम सम्पन्न भएको छ।
कृष्णपुर नगरपालिका वडा नं. १ कार्यालयको आर्थिक सहयोग तथा वैजनाथ बाल क्लबको आयोजनामा सो कार्यक्रम सञ्चालन गरिएको हो।
आगामी महान चाडपर्वहरू नजिकिँदै जाँदा समाजमा हुनसक्ने विकृति, विसंगति र लागुऔषधको ओसारपसार तथा दुर्व्यसनका घटनाहरू न्यूनीकरण गर्न वडाका विभिन्न बस्ती, चोक तथा गल्लीहरूमा इ-रिक्सा मार्फत सार्वजनिक सचेतना सन्देश प्रसारण गरिएको थियो।
अभियान अन्तर्गत विशेष गरी विद्यालयको हाता वरपर ३०० मिटर क्षेत्रभित्र मदिराजन्य, धुम्रपान तथा सुर्तीजन्य वस्तुहरूको बिक्रीवितरण पूर्ण रूपमा निषेध गरिएको सन्दर्भमा व्यवसायीहरूलाई पुनः सचेत गराइएको वैजनाथ बाल क्लबका अध्यक्ष विशाल पाण्डेले बताए ।
नेपाल प्रहरीका प्रतिनिधि र बाल क्लबका सदस्यहरूसहितको टोलीले स्थानीय पसलहरूमा पुगी सचेतनामूलक पर्चा टाँस्नुका साथै व्यापारीहरूसँग प्रत्यक्ष सम्वाद समेत गरेको उनले बताए । वडालाई बालमैत्री र लागुऔषधमुक्त बनाउनका लागि कानुन विपरीतका गतिविधि नगर्न चेतावनी दिँदै नियम उल्लंघन गरेमा प्रचलित कानुन बमोजिम कडा कारबाही हुने जानकारी गराइएको छ।
यस अभियानलाई सफल बनाउन सम्पूर्ण वडावासी, समाजसेवी, अभिभावक तथा बुद्धिजीवीहरूलाई सहकार्य र सहयोगका लागि अपिल गरिएको छ।