अत्तरिया : नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय सदस्य धीरेन्द्र साउदले प्रतियोगिताको टुर्नामेन्ट डाइरेक्टरको महत्त्वपूर्ण जिम्मेवारी पाएका छन्।
कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगितालाई व्यवस्थित, प्रतिस्पर्धात्मक र प्राविधिक रूपमा उत्कृष्ट बनाउन साउदको भूमिका महत्त्वपूर्ण रहनेछ।
यस सिजनको एनपीएलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यता प्राप्त गर्नुका साथै खेलहरूले लिस्ट ‘ए’ क्रिकेटको दर्जासमेत पाएका छन्। यसले प्रतियोगिताको अन्तर्राष्ट्रिय पहिचान र विश्वसनीयता बढाउने अपेक्षा गरिएको छ।
त्यस्तै, यसपटक एनपीएलमा डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रविधि प्रयोग गर्ने तयारी गरिएको छ। यस प्रविधिले अम्पायरका निर्णय पुनरावलोकन गर्न सहयोग पुर्याउने र खेललाई थप निष्पक्ष तथा विश्वसनीय बनाउने विश्वास गरिएको छ।
आईसीसीको मान्यता, लिस्ट ‘ए’ को दर्जा र आधुनिक प्रविधिको प्रयोगले नेपाली क्रिकेटको स्तर उकास्न योगदान पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगिताको व्यवस्थापनदेखि प्राविधिक पक्षसम्म सुधार गर्ने प्रयासले एनपीएललाई अन्तर्राष्ट्रिय क्रिकेटमा थप स्थापित गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।