अत्तरिया : कैलालीको गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा छिट्टै ब्लड बैंक तथा रक्तसञ्चार केन्द्र (ट्रान्सफ्युजन सेन्टर) सञ्चालन गर्ने तयारी गरिएको छ।
विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुनील कुमार जोशीले सामाजिक सञ्जाल फेसबुकमार्फत निकट भविष्यमै ब्लड बैंक र ट्रान्सफ्युजन सेन्टर सञ्चालन गर्ने योजना रहेको जानकारी दिएका हुन्।
उनले विश्वविद्यालयमा डा. बिपिन नेपाललाई स्वागत गर्दै यस योजनामा सहयोग पुर्याएकोमा धन्यवादसमेत व्यक्त गरेका छन्। गेटामा ब्लड बैंक तथा रक्तसञ्चार केन्द्र सञ्चालनमा आएमा कैलालीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका बिरामीलाई रगत उपलब्ध गराउन सहज हुने अपेक्षा गर्न सकिन्छ। विशेषगरी आकस्मिक उपचार, शल्यक्रिया तथा अन्य स्वास्थ्य सेवाका क्रममा आवश्यक पर्ने रगतको व्यवस्थापनमा यसले सहयोग पुर्याउन सक्नेछ।
यद्यपि, केन्द्र सञ्चालनमा आउने निश्चित मिति र सेवा सुरु हुने विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।