भोलीदेखि सुदूरपश्चिमसहित तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

अत्तरिया  : पश्चिमी वायुको प्रभाव बढ्दै जाँदा आइतबारदेखि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार केही स्थानमा मेघगर्जन, चट्याङ तथा असिनासमेत पर्न सक्ने सम्भावना छ। आइतबारदेखि पश्चिमी वायुको प्रभावले मौसममा परिवर्तन आउने अनुमान गरिएको छ।

विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा वर्षा र हिमपात हुने सम्भावना छ। यसको प्रभाव गण्डकी प्रदेशसम्म फैलिन सक्नेछ। त्यस्तै, बागमती र कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाको अनुमान छ।

सम्भावित वर्षा, असिना र हावाहुरीले खेतमा रहेको धानबाली तथा काटेर सुकाउन राखिएको परालमा क्षति पुर्‍याउन सक्ने भएकाले किसानलाई सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन्। काट्न बाँकी धान तत्काल काटेर सुरक्षित स्थानमा राख्न र सुकाउन राखिएको पराल जोगाउन सुझाव दिइएको छ।

यद्यपि हिउँदे वर्षा र हिमपातले हिउँदेबालीका लागि आवश्यक चिस्यान उपलब्ध गराउने भएकाले कृषि उत्पादनका दृष्टिले लाभदायक पनि हुन सक्ने मौसमविद् पोखरेलले बताउनुभएको छ। उनले मौसमसम्बन्धी पछिल्ला पूर्वानुमान नियमित रूपमा हेर्न पनि आग्रह गरिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.