काँग्रेस पूर्वसभापति देउवा धनगढी आउँदै

अत्तरिया  : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पार्टीको सुदूरपश्चिम प्रदेश अधिवेशन उद्घाटन गर्न धनगढी आउने भएका छन् । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत देउवा पक्षले आयोजना गर्न लागेको प्रदेश अधिवेशनको उद्घाटनका लागि देउवा धनगढी आउन लागेका हुन् ।

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले अधिवेशन उद्घाटन गर्न देउवा आउने निश्चित भएको जानकारी दिएका छन् । उनका अनुसार मंसिर १५ गते बिहान ११ बजे धनगढीमा अधिवेशनको औपचारिक उद्घाटन कार्यक्रम तय गरिएको छ ।

पार्टीको १५ औँ महाधिवेशनलाई लक्षित गर्दै सुदूरपश्चिममा प्रदेशदेखि स्थानीय तहसम्मका अधिवेशन प्रक्रिया अघि बढाइएको छ । प्रदेशका नौवटै जिल्लामा वडा, पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेका छन् । यद्यपि केही जिल्लामा अधिवेशनका प्रक्रिया बाँकी रहे पनि अधिकांश जिल्लामा संगठनात्मक अधिवेशन सम्पन्न भएको प्रदेश कार्यसमितिले जनाएको छ ।

प्रदेश अधिवेशनलाई कांग्रेसको आगामी महाधिवेशनसँग जोडेर हेरिएको छ । देउवा पक्षले आयोजना गर्न लागेको यस अधिवेशनमा प्रदेशको पार्टी नेतृत्व, संगठनात्मक गतिविधि तथा आगामी महाधिवेशनका तयारी लगायत विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ । मंसिर १५ गते हुने उद्घाटन कार्यक्रममा प्रदेशका नौवटै जिल्लाका नेता तथा कार्यकर्ताको सहभागिता रहनेछ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.