बुधबार र बिहीबार सुदूरपश्चिम लगायत ५ वटा प्रदेशमा वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मंगलबार प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहने जनाएको छ। त्यस्तै प्रदेश नं १ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार मंगलबार राति प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ। देशका पूर्वी तथा पश्चिमी भूभागका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही तराईका केही भूभागहरूमा हुस्सु र कुहिरो रहेको छ। तराई भूभागमा हुस्सु र कुहिरो लागेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

महाशाखाका अनुसार बुधबार दिउँसो सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। कर्णाली, सुदूर पश्चिम प्रदेशका केही स्थानमा र लुम्बिनी, गण्डकी तथा प्रदेश नं १ का एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्हरुले जनाएका छन्। बुधबार देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

उनीहरुको अनुसार बुधबारको मौसम बिहीबारसम्मै कायम रहनेछ, बिहीबार दिउँसो पनि प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्हरुले बताएका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.