मौलिक संस्कृति झल्काउँदै गौरीगंगाको लिक्मामा दसैं मेला मनाइँदै

धनगढी  : सुदूरपश्चिमको मौलिक संस्कृति, परम्परा र सामाजिक सद्भावको प्रतीकका रूपमा कैलालीको गौरीगंगा नगरपालिका–८, लिक्मामा आइतबार चतुर्दशी दसैं मनाइँदै छ ।

सुदूरपश्चिमवासीको सुख, शान्ति, समृद्धि र प्रगतिको कामना गर्दै मनाइने चतुर्दशी दसैं धार्मिक आस्था र सांस्कृतिक पहिचानसँगै आफन्त तथा इष्टमित्रसँग भेटघाट गर्ने विशेष अवसर पनि हो । यस पर्वले पुस्तौंदेखि चल्दै आएका परम्परालाई निरन्तरता दिनुका साथै समुदायका मानिसलाई एकै ठाउँमा जोड्ने काम गर्दै आएको छ ।

चतुर्दशी दसैंका अवसरमा दुर्गा भवानीको पूजाआजा गरी राँगोको बलि दिने परम्परा छ । राँगोलाई महिषासुरको प्रतीक मानेर दसैंको दोस्रो दिनदेखि नै स्थानीयका घरघरमा लगेर पूजाआजा गराउने गरिन्छ । चतुर्दशीका दिन बेलुकी घाम अस्ताउने समयमा बलि दिएर ब्राह्मणद्वारा सुदूरपश्चिमवासीको खुसी, समृद्धि र प्रगतिको कामनासहित संकल्प वाचन गरिन्छ ।

पर्वमा परम्परागत भोस्सो र कवाज खेल्ने चलनले यसको मौलिकता झल्काउँछ । दमाहाको तालमा नाङ्गो तरबार नचाउँदै बहादुरीको लयमा खेलिने कवाजले स्थानीय संस्कृति र वीरताको परम्परालाई उजागर गर्छ । राँगोको बलिपछि रातभर डेउडा खेल्ने, गीत गाउने र रमाइलो गर्ने गरिन्छ ।

चतुर्दशी दसैंले टाढिएका आफन्तलाई भेट्ने, परिवार तथा इष्टमित्रसँग सुखदुःख साटासाट गर्ने र आपसी सम्बन्धलाई थप प्रगाढ बनाउने अवसर प्रदान गर्छ । व्यस्त जीवनशैलीका कारण नियमित भेटघाट गर्न नपाएका आफन्त तथा साथीभाइसमेत पर्वका अवसरमा एकै ठाउँमा भेला हुने गर्छन् ।

गौरीगंगा नगरपालिकाका उपप्रमुख भोजबहादुर बमले चतुर्दशी दसैं सुदूरपश्चिमको मौलिक तथा सांस्कृतिक पर्व भएको बताए । यस पर्वमा सुदूरपश्चिमवासीको प्रगतिको कामना गर्दै संकल्प बोल्ने परम्परा रहेको उल्लेख गर्दै उनले राँगोको बलिपछि रातभर डेउडा खेल्ने चलन रहेको जानकारी दिए ।

नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष विष्णु भाटले चतुर्दशी दसैंको सांस्कृतिक महत्त्व, परम्परा संरक्षण र आफन्तबीचको भेटघाटको अवसर भएको बताए ।

स्थानीयस्तरमा मनाइने यस्ता पर्वले नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति र परम्पराबारे जानकारी दिनुका साथै सामाजिक एकता, आपसी सद्भाव र पारिवारिक सम्बन्धलाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने भाटले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.