सातवटै प्रदेशमा गठबन्धनको संयुक्त चुनावी सभा, बैशाख १८ गते धनगढीमा
काठमाडौं : सत्ता गठबन्धनले सातवटै प्रदेशका राजधानीमा संयुक्त चुनावी सभा गर्ने भएको छ। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा रहेको स्थानीय तह निर्वाचन आन्तरिक तयारी तथा अनुगमन समितिको बिहीबार बसेको बैठकले वैशाख ३० गते हुने निर्वाचनमा सातै प्रदेशमा गठबन्धनको संयुक्त चुनावी सभा गर्ने निर्णय गरेको हो।
निर्णयअनुसार धनगढीबाट सुरु भएर काठमाडौंमा सम्पन्न हुनेछ। धनगढी र सुर्खेतमा वैशाख १८ गते, बुटवल र पोखरामा १९ गते, विराटनगर र जनकपुरमा २० गते र काठमाडौंमा २० गते चुनावी सभा हुनेछ।
संयुक्त चुनावी सभालाई गठबन्धन दलका प्रमुख नेता र संयोजकसमेत गरी ६ जना शीर्ष नेताले सम्बोधन गर्ने अनुगमन समिति सदस्य सचिव केशवराज जोशीले जानकारी दिए। गठबन्धनले बुधबारमात्रै महानगरपालिका र उपमहानगरपालिकाको भागण्डा टुंग्याएको थियो। जिल्लास्तरमा नगरपालिका, गाउँपालिका र वडा तहको भागवण्डा तथा उम्मेदवारी छनोट कार्य भइरहेको छ। गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र जनमोर्चा छन्।