धनगढी : सुदूरपश्चिम विश्वविद्यालयले पाँच संकायका डिनसहित दुई केन्द्रका निर्देशक र केन्द्रीय क्याम्पसका प्रिन्सिपल नियुक्त गरेको छ। विश्वविद्यालयको कार्यकारी परिषद्को बैठकले पदाधिकारी सिफारिस समितिको सिफारिसका आधारमा रिक्त पदमा नयाँ पदाधिकारी नियुक्त गरेको हो।
विश्वविद्यालयका अनुसार व्यवस्थापन संकायको डिनमा सहप्राध्यापक डा. शिवप्रसाद सापकोटा, शिक्षाशास्त्र संकायको डिनमा सहप्राध्यापक डा. नाथुराम चौधरी र विज्ञान तथा प्रविधि संकायको डिनमा सहप्राध्यापक डा. प्रेमसिंह साउद नियुक्त भएका छन्।
त्यस्तै, स्वास्थ्य विज्ञान संकायको डिनमा सहप्राध्यापक डा. डबलबहादुर धामी र मानविकी तथा सामाजिकशास्त्र संकायको डिनमा प्राध्यापक डा. राजेन्द्रप्रसाद भट्ट नियुक्त भएका छन्।
यसैगरी, अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रको निर्देशकमा सहप्राध्यापक डा. महेन्द्रराज जोशी र भाषा, साहित्य तथा संस्कृति केन्द्रको निर्देशकमा प्राध्यापक डा. हरिशचन्द्र भट्ट नियुक्त भएका छन्। केन्द्रीय क्याम्पसको प्रिन्सिपलमा डा. दीपकचन्द्र भट्ट नियुक्त भएका छन्।