सुदूरपश्चिम महोत्सवको मुख्य प्रायोजकमा एक्सटिम इनर्जी ड्रिंक
मंसिर २२ देखि सुरु हुने महोत्सवलाई थप आकर्षक र भव्य बनाउने आयोजकको अपेक्षा, एक्सटिम इनर्जीको स्टलबाट खरिदमा एक टिकट निःशुल्क
धनगढी : सुदूरपश्चिमको कला, संस्कृति, पर्यटन, कृषि तथा व्यापारिक गतिविधिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको सुदूरपश्चिम महोत्सवको मुख्य प्रायोजकमा एक्सटिम इनर्जी ड्रिंक जोडिएको छ। महोत्सवको तयारी तीव्र भइरहेका बेला कैलाली उद्योग वाणिज्य संघ र एक्सटिम इनर्जीबीच मुख्य प्रायोजनसम्बन्धी सम्झौता भएको हो।
आइतबार कैलाली उद्योग वाणिज्य संघको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष पुष्करराज ओझा र एक्सटिम इनर्जीका चिफ म्यानेजर सोनिया रानाले सम्झौतापत्रमा संयुक्त रूपमा हस्ताक्षर गरेका हुन्।
सम्झौतापछि बोल्दै एक्सटिम इनर्जीकी चिफ म्यानेजर रानाले सुदूरपश्चिम महोत्सवसँग जोडिन पाउँदा खुसी लागेको बताइन्। उनले एक्सटिम इनर्जीको सहभागिताले महोत्सवको रौनक थप बढ्ने विश्वास व्यक्त गर्दै महोत्सव सफल बनाउन आफ्नो संस्थाको साथ र सहयोग रहने बताइन्।
त्यस्तै, कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष ओझाले कुनै पनि मेला तथा महोत्सव सञ्चालनका लागि मुख्य प्रायोजकको व्यवस्थापन गर्नु चुनौतीपूर्ण हुने गरेको बताए। एक्सटिम इनर्जी मुख्य प्रायोजकका रूपमा जोडिएपछि महोत्सव सञ्चालन तथा व्यवस्थापनमा थप सहजता आउने उनको विश्वास गरे ।
महोत्सवमा सहभागी दर्शकलाई लक्षित गर्दै आयोजकले विशेष अफरसमेत सार्वजनिक गरेको छ। महोत्सवस्थलको मुख्य प्रवेशद्वारमा एक्सटिम इनर्जीको स्टल रहनेछ। उक्त स्टलबाट एक्सटिम इनर्जी खरिद गर्ने ग्राहकले एक टिकट निःशुल्क प्राप्त गर्न सक्ने अध्यक्ष ओझाले जानकारी दिए। यसले महोत्सव अवलोकन गर्न आउने दर्शकलाई थप आकर्षित गर्ने अपेक्षा गरिएको छ।
धनगढी उपमहानगरपालिका–१ स्थित पशुपति टोलमा आयोजना हुने सुदूरपश्चिम महोत्सव मंसिर २२ गतेदेखि सञ्चालन हुँदैछ। महोत्सवलाई व्यवस्थित, आकर्षक र दर्शकमैत्री बनाउन आवश्यक तयारीलाई तीव्र पारिएको आयोजकले जनाएको छ।
स्थानीय उत्पादनको बजारीकरण, व्यापारिक गतिविधिको विस्तार, कला तथा संस्कृतिको संरक्षण र पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिँदै आयोजना हुने महोत्सवले यस वर्ष पनि सुदूरपश्चिमको आर्थिक तथा सांस्कृतिक गतिविधिमा उत्साह थप्ने अपेक्षा गरिएको छ।