सुदूरपश्चिम गठबन्धन दलहरुलाई उम्मेदवार छान्न सकस
अत्तरिया : सत्तारुढ दलले देशभर गठबन्धन गर्ने सहमति गरे पनि सुदूरपश्चिममा भने गठबन्धनको विषयलाई लिएर अन्योल देखिएको छ ।
महानगर र उपमहानगरमा समेत गठबन्धन गरी भागबण्डा गरेका दलले सुदूरपश्चिमा भागबन्डा गर्ने प्रयास गरे पनि दलबीच र दलहरूभित्रकै असन्तुष्टिले उम्मेदवार टुंग्याउन समस्या देखिएको छ ।
मनोनयन दर्ता गर्ने ३ दिन मात्र बाँकी रहँदासमेत उम्मेदवारको त कुरै छाडौँ गठबन्धनको भागबन्डा पनि टुंगिएको छैन । सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये बझाङमा मात्र भागबन्डामा सहमति भए पनि त्यसको विरोध स्थानीय तह स्तरमा कार्यकर्ताले गरिरहेका छन ।
कांग्रेस बझाङका सचिव उत्तम रोकायाले जिल्लामा रहेका १२ वटा स्थानीय तहमध्ये ७ वटा कांग्रेस, ३ वटा एकीकृत समाजवादी र २ वटा माओवादी केन्द्रलाई दिने सहमति भएको बताए। उनले भने, ‘कुन स्थानीय तह र कति तह कसले पाउने भन्ने सहमति भए पनि उम्मेदवारको विषय टुंगिएको छैन ।’
‘नेपाली कांग्रेसको भागमा नपरेका स्थानीय तहका साथीले असन्तुष्टि जनाउनुभएको छ, त्यसबारे छलफल गरेर मनाउने प्रयास गरिरहेका छौँ ।’ कांग्रेसजस्तै गठबन्धनका अन्य दलका स्थानीय नेता–कार्यकर्ताले पनि असन्तुष्टि जनाइरहेका छन । सुदूरपश्चिम प्रदेशका अन्य पहाडी जिल्ला बाजुरा, अछाम, दार्चुला, डोटी र बैतडीमा गठबन्धन गर्ने वा नगर्ने भन्नेबारे कुनै सहमति भइसकेको छैन । ती जिल्लाका अधिकांश स्थानीय तहमा कांग्रेसले एक्लै चुनाव लड्नुपर्ने दबाब कार्यकर्ताले दिइरहेका छन् ।
खासगरी कांग्रेसको यसअघि बलियो उपस्थिति रहेको अछाम र बाजुरामा एक्लै लड्नु पर्ने दबाब बढिरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा गठबन्धनका दलले आसन्न स्थानीय तहको चुनावमा तालमेल नगर्ने निर्णय नै गरेका छन् ।
चुनावमा जिल्लाका सबै स्थानीय तहमा सत्ता गठन्धनका दलले तालमेल नगर्ने निर्णय गरेका हुन् । एमाले कमजोर रहेको र सबै स्थानीय तहमा गठबन्धनका दलले नै जित्ने भन्दै यस्तो निर्णय गरिएको माओवादी सुदूरपश्चिमका उपाध्यक्ष मानसिंह मालले बताए ।
प्रदेश स्तरीय गठबन्धनले पनि तालमेल नगर्ने निर्णयलाई मान्यता दिने तयारी गरेको उनले बताए । केन्द्रीय गठबन्धनले पनि मित्रवत् प्रतिस्पर्धालाई सकारात्मक रूपमै लिएको उनको भनाइ छ । डडेल्धुरामा गठबन्धनका लागि बनाइएको कार्यदलको वैशाख ४ गतेको बैठकले गठबन्धन नगर्ने र मित्रवत् प्रतिस्पर्धाका आधारमा चुनावमा जाने निर्णय गरेको हो ।
जिल्ला तहमा यो निर्णय गरे पनि केन्द्रबाट भने गठबन्धनका लागि दबाब आइरहेको कांग्रेसका एक नेताले बताए । उनले भने, ‘केन्द्रबाट तालमेल गर भनेर दबाब आइरहेको छ तर जिल्लामा नगर्नुपर्ने दबाब छ, अझै छलफल गर्छौं ।’ तराईका ठूला जिल्ला कैलाली र कञ्चनपुरमा पनि गठबन्धन दलबीच कुनै सहमति जुटेको छैन । सुदूरपश्चिमको राजधानीसमेत रहेको कैलालीको धनगढी उपमहानगरपालिकामा गठबन्धन गर्ने केन्द्रबाटै निर्णय भए पनि अन्य स्थानीय तहबारे भने निर्णय हुन सकेको छैन । धनगढी उपमहानगरमा भने कांग्रेसले प्रमुख र नेकपा माओवादी केन्द्रले उपप्रमुख पाउने निर्णय भएको छ ।
कांग्रेसका प्रदेश सभापति वीरबहादुर बलायर सुरुदेखि नै गठबन्धनको विरोधी भए पनि केन्द्रको दबाबपछि गठबन्धको पक्षमा देखिएका छन् । उनले भने, ‘केन्द्रले गरेको सहमतिअनुसार गठबन्धन आबद्ध दलबीच छलफल भइरहेको छ तर सहमति भएको छैन, हामी सहमतिका लागि अधिकतम प्रयासमा छौँ ।’ उनले सम्भवतः शुक्रबारसम्म सहमति हुन सक्ने बताए । यस्तै नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले पनि सहमतिका लागि दलबीच छलफल भइरहेको बताए । उनले कुन दलले कति पालिका पाउने भन्नेबारे छलफल भइरहेको जानकारी दिए ।
एकीकृत समाजवादीका नेता दीर्घ सोडारीले सबै दलको सम्मानजनक रूपमा उपस्थिति हुने गरी सहमतिको प्रयास भइरहेको बताए । उनले भने, ‘यो कुनै दल विशेष भन्दा पनि सबैको आवश्यकताको कुरा हो, गठबन्धनमा सहमति हुन्छ ।’ खासगरी दलभित्र उम्मेदवारका विषयमा विवाद देखिए पनि गठबन्धन दलबीच भने आफ्नो दलले कति पालिका पाउने भन्नेबारेमै सहमति हुन सकेको छैन । ०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा सुदूरपश्चिमका ८८ वटा स्थानीय तहमध्ये नेकपा एमालेले सबैभन्दा बढी ३९, कांग्रेसले ३८, नेकपा माओवादी केन्द्रले १० र तत्कालीन फोरम लोकतान्त्रिकले एक तहमा विजय हासिल गरेको थियो ।