सुदूरपश्चिमका महिला तथा सिमान्तकृतलाई मतदाता शिक्षा
धनगढी : सुदूरपश्चिम प्रदेशमा स्थानीय निर्वाचन २०७९ को लागि महिला तथा सिमान्तकृत समुदायका सम्भावित नेताहरुको लागि क्षमता विकास तथा सशक्तीरण अभियान सञ्चालन भएको छ। बास नेपालले प्रदेशमा विभिन्न जिल्लामा निर्वाचन लक्षित कार्यक्रम सञ्चालनमा ल्याएको हो। बुधबार डडेल्धुरा र बझाङमा पालिकास्तरीय अन्र्तक्रिया सम्पन्न भएको छ। निर्वाचनमा महिला तथा सिमान्तकृत समूहका सम्भावित वर्गहरुको क्षमता विकास र सशक्तीकरणसँगै मतदाता शिक्षा सञ्चालन भएको डडेल्धुरा जिल्ला सहजकर्ता भावना पौडेलले जानकारी दिइन्।
डडेल्धुरामा रहेका सिमान्तकृत वर्गलाई निर्वाचनमा सहज ढंगले मत हाल्न सिकाउनुको साथै मत बदर नहोस् भन्ने उद्देश्यले मतदाता शिक्षा प्रदान गरिएको उनले बताइन्। कार्यक्रममा महिलाहरुलाई सशक्तीकरण तथा नेतृत्व क्षमता विकासको विषयमा समेत तालिम दिएको थियो।
यस्तै, बझाङको बित्थडचिर गाउँपालिकामा पनि महिला तथा सिमान्तमृत वर्गलाई मतदाता शिक्षा प्रदान गरिएको छ। गत निर्वाचनमा अधिकांश महिला तथा दलित समुदायको मत बदर भएका कारण मतदाता शिक्षा सञ्चालन गरिएको सहजकर्ता सरिता बोहराले बताइन्। उक्त मतदाता शिक्षा कार्यक्रममा अधिकांश दलित तथा ग्रामीण क्षेत्रका महिलाहरुको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरुलाई आसन्न स्थानीय तहको निर्वाचनमा महिला तथा सिमान्तकृत समूहको क्षमता विकास र शसक्तीकरण सँगै मतदाता शिक्षा पनि दिइएको थियो।
आसन्न स्थानीय तहको निर्वाचनमा हालिएका भोटहरु कहीँकतै बदर नहोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बास नेपालका तपेन्द्रबहादुर मलातीले जानकारी दिए। निर्वाचनको समयमा मत बदर नहोस् भन्नका लागि सहभागीहरुलाई नमूना मतपत्रमा भोटसमेत हाल्न लगाइएको थियो।