सुदूरपश्चिम देउवा कांग्रेस सभापतिमा शाहीको उम्मेदवारी घोषणा

धनगढी  : नेपाली कांग्रेसका युवा नेता पुष्पकुमार शाहीले सुदूरपश्चिम प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्। पार्टीभित्र संगठन सुदृढीकरण, युवा पुस्ताको सक्रिय सहभागिता र एकताबद्ध कांग्रेस निर्माणको लक्ष्यसहित शाहीले प्रदेश सभापतिमा आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन् ।

नेपाली कांग्रेसभित्र नियमित महाधिवेशनको पक्षमा रहेको देउवा समूहले आगामी मंसिर १५ र १६ गते सुदूरपश्चिम प्रदेश अधिवेशन गर्ने निर्णय गरेसँगै प्रदेश नेतृत्वका लागि राजनीतिक सरगर्मी बढेको छ । यही राजनीतिक परिवेशमा युवा नेता शाहीले बिहीबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गरी औपचारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै शाहीले नेपाली कांग्रेसको संगठनलाई थप मजबुत, गतिशील र जनमुखी बनाउन आफूले प्रदेश सभापतिमा उम्मेदवारी दिएको बताए । पार्टीलाई नयाँ ऊर्जा र सोचका साथ अघि बढाउन नेतृत्वमा युवा पुस्ताको सक्रिय भूमिका आवश्यक रहेको उनको भनाइ थियो ।

उनले आफ्नो उम्मेदवारी व्यक्तिगत पद र प्रतिष्ठाका लागि नभई पार्टी संगठनलाई व्यवस्थित, बलियो र एकताबद्ध बनाउने उद्देश्यबाट प्रेरित रहेको स्पष्ट पारे । पार्टीभित्र देखिएका असमझदारी र गुटगत दूरीलाई कम गर्दै सबै नेता तथा कार्यकर्तालाई एउटै अभियानमा जोड्नु आफ्नो प्राथमिकता रहने उनले बताए ।

शाहीले प्रदेश सभापतिमा सर्वसम्मत नेतृत्व चयनका लागि आफू सकारात्मक रहेको उल्लेख गर्दै सहमति हुन नसके लोकतान्त्रिक निर्वाचन प्रक्रियाबाट प्रतिस्पर्धा गरेर पनि नेतृत्वमा पुग्ने विश्वास व्यक्त गरे । पत्रकार सम्मेलनमा उनले आफूले पार्टीका विभिन्न तहबाट सकारात्मक प्रतिक्रिया र समर्थन पाइरहेको दाबीसमेत गरे ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.