यो चुनाव प्रतिगमनलाई परास्त गर्ने चुनाव हो : प्रचण्ड
धनगढी : नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको चुनाव प्रतिगमनलाई परास्त गर्ने चुनाव भएको बताएका छन् ।
नेपाली कांग्रेस धनगढीले आयोजना गरेको चुनावी सभामा गठबन्धनका तर्फबाट बोल्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले लोकतान्त्रवादी र वामपन्थी एक भएका बेला देशले काचुली फेरेको बताउँदै यसले तानाशाह असफल भएको बताए । उनले शान्ति प्रकृयादेखि संविधान समेत यस्तै किसिमको गठबन्धनबाट सम्भव भएको बताउँदै संविधान विरोधी शक्तिहरूलाई पनि यही गठबन्धनले असफल पारेको बताए ।
त्यस्तै, उनले लोकतान्त्रिक वाम गठबन्धनका रूपमा अगाडि बढेको शक्तिलाई सफल पार्न समेत आग्रह गरे । उनले भने, ‘गठबन्धनलाई कमजोर र परास्त गर्न के गर्न सकिन्छ भनेर प्रतिगमनकारी लागिरहेका छन्’, उनले भने, ‘गठबन्धनबीच नै वैमनश्यता ल्याउन निकै ठूलो कसरत भएको छ । देउवा जी यसमा पनि सचेत हुनुहुन्छ ।’