स्थानीय निर्वाचन २०७९ : परिचयपत्र धमाधम बुझ्दै मतदाता

अत्तरिया : कैलाली मतदानस्थलमा मतदान केन्द्रमा नयाँ मतदाताको परिचयपत्र वितरण धमाधम भईरहेको छ । यस बर्ष थपिएका मतदाताहरुले मतदाता परिचय पत्र बुझ्दै छन् । शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा सहभागि हुनका लागि मतदाताहरुले सम्बन्धित मतदान केन्द्रमा परिचयपत्र बुझिरहेका हुन् ।
प्रदेश निर्वाचन कार्यालय कैलालीका निमित्त प्रमुख प्रेमराज भट्टले तोकिएका मतदानस्थलमा नयाँ मतदातालाई परिचयपत्र वितरण र मतदाता शिक्षा लगायतका काम सुरु भईरहेको जानकारी दिए । परिचय वितरणका साथै मतदान केन्द्र तयार समेत भईरहेको छ । बुधबार र बिहिबार गरी दुई दिन परिचय वितरणको कार्य भईरहेको हो ।
जिल्लाका अधिकांश विद्यालयका भवनलाई मतदानस्थल र केन्द्र तोकिएको छ । जिल्लाका १३ पालिका तहमा कूल पाँच लाख २५ हजार १२५ मतदाता पुगेका छन । पाँच वर्ष अघिको स्थानीय तह निर्वाचनमा चार लाख तीन हजार २ सय ८० मतदाता थिए । जिल्लाको गौरीगङ्गा नगरपालिकामा खटिनु भएका निर्वाचन अधिकृत नीराजन पाण्डेयले मङ्गलबार आयोजित सर्वदलीय बैठकमा निर्वाचन आचारसंहिता, मतगणना कार्य, मतदाता शिक्षालगायका बारेमा जानकारी दिइएको बताए । मंगलबार राति देखि निर्वाचनको मौन अवधि सुरु भएसँगै प्रत्यासीहरुले देखिने गरी प्रचारप्रसारका काम रोकेका छन् ।
निर्वाचन गराउन जिल्लाका सबै १३ पालिकामा झण्डै तीन हजार ९ सय कर्मचारी परिचालन गरिएको छ । यी पालिका तहमा २३६ मतदानस्थल र ६१९ मतदान केन्द्रको व्यवस्था गरिएको छ । ५२ मतदानस्थललाई अति संवेदनशील, ५३ मतदानस्थललाई संवेदनशील र बाँकी १३१ मतदानस्थललाई सामान्य मतदानस्थलको सूचीमा राखेर सोही बमोजिमको सुरक्षा व्यवस्थापन गरिएको छ ।
जिल्लाका पालिका तहका ६५६ पदका लागि चुनाव हुँदैछ । यसका लागि जिल्लाभरी तीन हजार ७२ जना प्रतिस्पर्धी छन । मतदानको ४८ घण्टा अघि अर्थात् गएरातिदेखि नै गौरीफन्टा, खक्रौला लगायतका सीमा नाकामा आवागमन बन्द गरिएको छ । अत्यावश्यक सेवा प्रवाहको हकमा भने सीमा नाकामा आवागमन गर्न बाधा अवरोध नपुग्ने बताइएको छ ।
नागरिकताले पनि मतदान गर्नु पाईने
मतदाता नामावलीमा समावेश भएका नागरिकलाई मतदाता परिचयपत्र नभए पनि मतदानमा सहभागी गराउने निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता नामावलीमा नाम समावेश भएका सबैले मतदान गर्न पाउने गरी व्यवस्था गरिएको जानकारी दिए ।
थपलियाले भने, ‘स्थानीय तह मात्रै होइन, सबै तहका निर्वाचनको निम्ति पहिलो सर्त भनेको मतदाता नामावली हो । मतदाता नामावलीको पूर्वसर्त भनेको नागरिकता प्राप्ति हो ।’ त्यस कारण नागरिकता प्राप्त गरेर वडा विभाजनभित्र परेका ६,७४३ वडा भित्रका सबै (मतदाता भएका) नागरिकले मतदान गर्न पाउने गरी निर्वाचनको व्यवस्था गरिएको छ ।
तर, उनले मतदाता परिचयपत्र हराएका मतदातालाई आवश्यक पर्ने कागजातबारे आयोगले स्पष्ट नगर्दा धेरैमा अन्यौलता देखिएको छ । स्थानीय तह निर्वाचन निर्देशिका अनुसार मतदान अधिकृतलाई दुई प्रति मतदाता नामावली आयोगले उपलब्ध गराउँछ ।
मतदाताको तस्बिर समेत राखिएको यस्तो नामावली एक प्रति रङ्गिन र एक प्रति श्यामश्वेत उपलब्ध गराइएको हुन्छ । निर्देशिका अनुसार ‘मतदान अधिकृतले निर्वाचनको मितिभन्दा अगावै आयोगबाट प्राप्त मतदाता परिचयपत्र सम्बन्धित मतदाता वा निजको परिवारका सदस्यलाई बुझाई बुझिलिनेको दस्तखत वा सहीछाप गराई राख्नु पर्नेछ ।’
निर्देशिकाको दफा ३९ मा मतदान अधिकृत वा कर्मचारीले मतदाताको परिचयपत्र हेरेर मतदातामा नाम भए वा नभएको जाँच गर्नुपर्ने व्यवस्था गरेको छ । मतदाता नामावलीमा समावेश भएको नाम र परिचयपत्रमा समावेश भएको नाम बाहेक कर्मचारीहरूले बुबा, आमाको नाम, उमेर र थरजस्ता विवरणहरूको पनि जाँच गर्नुपर्ने नियम छ ।
‘जाँच गर्दा मतदाता नामावलीमा लेखिएको व्यक्ति निज नै हो भन्ने कुरामा मतदान अधिकृत वा निजले खटाएको कर्मचारी विश्वस्त भएमा निजलाई मतपत्र दिनु पर्नेछ, निर्देशिकामा भनिएको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा आयोगले सरकारी निकायबाट जारी भएका फोटो सहितका कुनै पनि परिचयपत्रका आधारमा मतदान गर्न दिने व्यवस्था मिलाएको थियो ।
आयोगले मतदाता नामावलीमा नाम भएका तर परिचयपत्र नभएका मतदाताहरुलाई के आधारमा मतदान गर्न दिने विषयमा निर्णय हुन बाँकी नै रहेको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारि दिए । यसअघिको निर्वाचनहरू जस्तै सरकारी निकायबाट जारी भएका फोटो सहितका परिचयपत्रलाई मान्यता दिने अभ्यासलाई निरन्तरता दिने सम्भावना रहेको उनले जानकारी दिए ।
नेपालको त्यो भूभाग जहाँ हुने छैन स्थानीय तहको निर्वाचन आयोगले नागरिक एपमा आफ्नो मतदाता परिचयपत्र देखाएर पनि मतदान गर्न पाउने व्यवस्था गर्नेबारे पनि छलफल गरिरहेको छ ।
आफैँ छाप लगाउन नसक्ने मतदाताले कसरी गर्न पाउँछन् मतदान
दृष्टिविहीन वा शारीरिक अशक्तता भएका वा अरू कुनै कारणले मतदाता आफैँले मतपत्रमा छाप हाल्न नसक्ने अवस्थामा भएका मतदाताले अरूको सहयोगमा मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार त्यस्ता व्यक्तिले आफ्नो साथमा आएका एकाघरको परिवारको सदस्यलाई मत सङ्केत गर्ने गोप्य स्थानमा आफूसँगै लैजाने अनुमति मागेमा मतदान अधिकृतले अनुमति दिनुपर्ने प्रावधान छ ।
दृष्टिविहीन वा शारीरिक अशक्त भएको मतदाताको साथमा परिवारको सदस्यलाई सँगै जान अनुमति दिँदा एक्लै मतदान कक्षमा गई आफैँ मतदान गर्न असमर्थ व्यक्ति हो होइन निर्क्योल गरी अनुमति दिनुपर्ने, दृष्टिविहीन मतदाता वा मतपत्रमा मत सङ्केत गर्न नसक्ने मतदाताको साथमा जाने व्यक्तिले मतदान अधिकृतको रोहवरमा सम्बन्धित मतदाताले भने बमोजिमको निर्वाचन चिह्नमा मत सङ्केत गर्नुपर्ने व्यवस्था रहेको आयोगले जनाएको छ ।
कुनै मतदाताले दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरू कुनै कारणवश आफैँ मत सङ्केत गर्न नसक्ने भई सहयोग गरिदिन अनुरोध गरेमा र मतदान अधिकृतलाई सो कुरा उपयुक्त लागेमा मतदान अधिकृतले त्यस्तो मतदाताको मतपत्रमा निजको इच्छा अनुसार मत सङ्केत गर्ने काममा सहयोग गर्नुपर्ने व्यवस्था स्थानीय तह निर्वाचन निर्देशिकामा रहेको आयोगले जनाएको छ ।
सो व्यवस्थाअनुसार कुनै मतदाताको कुनै एकाघरको परिवारको सदस्य उसको वारिस नभई सहयोगी मात्र भएको आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेललाई उद्धृत गर्दै निर्वाचन आयोगले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.