मत गन्दागन्दै बीचमै प्रतिस्पर्धी उम्मेदवारलाई अँगालोे मार्दै शुभकामना
बैतडी : दशरथचन्द नगरपालिकाकोे करिब एक हजार मत गणना गर्न बाँकी थियो । एमालेबाट मेयरका उम्मेदवार पुष्करराज जोशी ‘लख्खाभाइ’ १४ सयले अग्रता लिइरहँदा उनको जित पक्का भइसकेको थियो । कांग्रेसबाट मेयरको प्रतिस्पर्धामा रहेका गजेन्द्र रावलले सोमबार साँझ विजयतर्फ अघि बढेका ‘लख्खाभाइ’लाई गणनास्थलको छतमा बोलाए र बधाई दिए । दुवैले एकआपसमा अँगालो मारे । ‘जितेपछि के गर्नुपर्ला त ?’ लख्खाभाइले रावललाई सोधे । रावलले नगरपालिकामा सुशासन कायम गर्दै कर्मचारीतन्त्रलाई सही ठाउँमा राखेर सेवा प्रवाह गर्न सुझाए ।
लख्खाभाइ भारतीय विश्वविद्यालयबाट उच्चशिक्षा आर्जन गरेका व्यक्ति हुन् । रावलले हिन्दी भाषामा ‘ए दोस्ती जो थी हमेसा रहेगी’ भन्दै गर्दा लख्खाले आफू मेयरको भूमिकामा रहँदा प्रतिपक्षको भूमिकामा नरही सहयात्रीको भूमिका खेलिदिन अनुरोध गरे । दुवैैजना अँगालो मारेर मतगणनास्थलमा झरे ।
गणना गरिरहेका कर्मचारीहरूलाई रातदिन खटेर काम गरेकोमा दुवैले धन्यवाद दिँदै एकपल्ट फेरि अँगालो मारे ।